राजनीति


एमालेमा विवाद चर्किरहेका बेला ओली र विप्लवबीच बालुवाटारमा भेट

एमालेमा विवाद चर्किरहेका बेला ओली र विप्लवबीच बालुवाटारमा भेट

नेपालखबर
चैत ९, २०७७ सोमबार १०:५३,

हालै शान्तिपूर्ण राजनीतिमा आएका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेट गरेका छन्।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथमै लिएर विप्लव प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उनीहरुबीच कम्तिमा डेढघण्टा छलफल भएको थियो।

फागुन २१ गते सार्वजनिक भएका विप्लव र ओलीबीच हालै भएको यो दोस्रो भेट हो।

अदालतको आदेशबाट नेकपाको विघटन र एमालेबीच पनि फूटको अवस्था सिर्जना भइरहेका बेला ओलीले विप्लवलाई बालुवाटारमै भेट गरेका छन्।

ओली र विप्लवबीच मुख्यतः तीन विषयमा केन्द्रित रहेर छलफल भएको विश्वकर्मानिकट एक नेताले बताए।

‘पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते भएको सहमतिको देशव्यापी प्रभावको समीक्षा र सहमति कार्यान्वयनका विषयमा छलफल भयो,’ विश्वकर्माको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘प्रधानमन्त्री ओलीले सहमति कार्यान्वयनकै प्रक्रियामा रहेको बताउनुभएको छ।’

कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले सहमति कार्यान्वयनको नतिजा केही दिनमै देखिनेछ भनी उनीहरुलाई आश्वस्त पारेका थिए।

नेकपा र सरकारबीच तीन–बुँदे सहमति भएअनुसार देशका विभिन्न स्थानमा बन्दी अवस्थामा रहेका विप्लव कार्यकर्ताहरुको तत्काल रिहाइ गर्ने बताइएको थियो।

सहमति सार्वजनिक भएकै दिन धर्मेन्द्र बास्तोलासहित तीन नेता छुटेका थिए।

तर हेमन्तप्रकाश ओली लगायतका अन्य नेता तथा कार्यकर्ताहरु अझैपनि जेलमै छन्।

उनीलगायत अन्य नेताहरुको रिहाइ कार्यान्वयनकै प्रक्रियामै रहेको भनी प्रधानमन्त्री ओलीले बताएका थिए।

प्रधानमन्त्री ओलीले विप्लवसँगको कुराकानीका क्रममा नेकपा र सरकारबीच भएको सो सहमतिले देशव्यापी राम्रो सन्देश गएको धारणा राखेका थिए। उनले त्यसबारे विप्लवको प्रतिक्रिया पनि सोधेका थिए।

जवाफमा विप्लवले पनि आफू बिभिन्न जिल्लामा पुग्दा सहमतिले राम्रै सन्देश गएको महशुस गरेको बताएका थिए।

सार्वजनिक भएर एक हप्ता काठमाडौं बसेका विप्लव त्यसपछि जिल्ला जिल्लामा पुगेका थिए।

एक नेताका अनुसार सहमति कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री ओलीसँगको भेटकै लागि विप्लव आइतबार साँझ काठमाडौं आइपुगेका हुन्।

‘उहाँहरुबीचको कुरा सकारात्मक भएको छ, वर्तमान राजनीतिक अवस्थादेखिका विषयमा छलफल गर्नुभयो,’ विश्वकर्माको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘बाहिर विप्लव फेरि भूमिगत भयो भन्ने हल्ला समेत चलाइएको थियो त्यसलाई चिर्ने प्रयास पनि हो।’

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई मान्यता नदिएपछि सिर्जित नयाँ चरणको तरल राजनीतिक अवस्थाबीच ओली र विप्लवबीच भेट भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad