राजनीति


नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था राज्यको गम्भीर असफलता: उपेन्द्र यादव

नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था राज्यको गम्भीर असफलता: उपेन्द्र यादव

नेपालखबर
असार २६, २०८३ शुक्रबार १५:३१, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालले कुनै पनि नागरिक आफ्नो पीडा, निराशा वा अन्यायको अनुभूतिलाई आत्मदाहजस्तो अन्तिम निर्णयमार्फत अभिव्यक्त गर्न बाध्य हुनु कानुनी राज्यका लागि अत्यन्त गम्भीर चेतावनी भएको बताएको छ।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले गणेश नेपालीको उपचारका क्रममा भएको निधन लोकतान्त्रिक एवं कानुनी राज्यका लागि गम्भीर चेतावनी भएको बताएका हुन्।

‘एउटा व्यक्तिको मृत्युमा परिवारले आफ्नो सदस्य मात्र गुमाउँदैन, समाजले एउटा सक्रिय नागरिक गुमाउँछ र राज्यले आफ्ना नागरिकप्रतिको उत्तरदायित्वमाथि गम्भीर प्रश्नको सामना गर्नुपर्छ,’ अध्यक्ष यादवको वक्तव्यमा उल्लेख छ। 

अध्यक्ष यादवले उक्त घटनालाई केवल व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगका रूपमा टार्न नहुने उल्लेख गर्दै यसको वास्तविक कारण, पृष्ठभूमि तथा त्यसतर्फ पुर्‍याउने सबै परिस्थितिको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेका छन्।

घटनामा कुनै व्यक्ति, संस्था वा राज्य संयन्त्रको लापरवाही, अन्याय वा गैरजिम्मेवारी देखिए कानुनबमोजिम कडा कारबाही हुनुपर्ने उनको भनाइ छ।

यादवले सरकारले दिवंगत गणेश नेपालीका परिवारलाई उचित राहत, सम्मानजनक क्षतिपूर्ति तथा आवश्यक सामाजिक र आर्थिक सहयोग तत्काल उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन्।

यस्तै, श्रमिक वर्ग, कामदार, युवा तथा आम नागरिकका गुनासा समयमै सम्बोधन गर्ने, न्यायमा सहज पहुँच सुनिश्चित गर्ने र मनोसामाजिक सहयोगलाई प्रभावकारी बनाउने संस्थागत व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

‘मानव जीवनभन्दा ठूलो कुनै पनि विषय हुन सक्दैन। राज्यको पहिलो दायित्व नागरिकको जीवन, सम्मान र न्यायको संरक्षण गर्नु हो। कुनै पनि नागरिकले आफ्नो आवाज सुनाउन जीवन नै समाप्त गर्नुपर्ने अवस्था सिर्जना हुनु सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन,’ यादवले वक्तव्यमा उल्लेख। 

यस प्रकारका दुखद घटनालाई राज्य, समाज र सम्बन्धित सबै पक्षका लागि गम्भीर आत्मसमीक्षा र जिम्मेवारीबोधको विषय बनाउनुपर्ने उनले बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad