राजनीति


राष्ट्रिय परिचयपत्रः गोपनीयताको ठोस व्यवस्थाविनै छलफल टुंग्याइयो

राष्ट्रिय परिचयपत्रः गोपनीयताको ठोस व्यवस्थाविनै छलफल टुंग्याइयो

नेपालखबर
साउन २७, २०७६ सोमबार १२:१०,

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय परिचयपत्रमा रहेका व्यक्तिको वैयक्तिक र जैविक विवरणको गोपनीयता कायम राख्ने सन्दर्भमा ठोस व्यवस्था नगरी त्यससम्बन्धी विधेयकमाथिको छलफल टुंग्याएको छ।

समितिको सोमबार बसेको बैठकमा सदस्यहरुले राष्ट्रिय परिचयपत्रमा रहेका व्यक्तिको वैयक्तिक र जैविक विवरणको गोपनीयता कायम रहने भन्नेमा आश्वस्त हुन नसकिएकाले त्यसको सुनिश्चतता गरिनुपर्ने धारणा राखेका थिए। तर सदस्यहरु नै ढुक्क नबन्दै शंकै शंकामा समितिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सबन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल सकाएको हो।

विद्युतीय तथ्याङ्क भण्डार व्यवस्थापनअन्तर्गत विधेयकको दफा ३५ को उपदफा २ मा व्यक्तिको वैयक्तिक गोपनीयता कायम रहने गरी सार्वजनिक संस्था तथा व्यावसायिक संस्थालाई तोकिएबमोजिमको दस्तुर लिई विभागमा रहेका तथ्याङ्क तथा विवरणलाई तोकिएबमोजिम उपयोग गर्न दिन सकिनेछ भन्ने उल्लेख छ। यो व्यवस्थाले संविधानले प्रत्याभूति गरेको व्यक्तिको गोपनीयताको हक हनन हुने र वैयक्तिक विवरण सार्वजनिक पहुँचमा पुग्ने भन्दै समिति सदस्यहरुले आपत्ति जनाएका थिए। समिति सदस्य डिला संग्रौला पन्तले गोपनीयताको हक उल्लंघन हुने भएकाले सरकारी संस्था, सुरक्षा निकाय तथा निर्वाचन आयोगले हेर्न सक्ने व्यवस्था गरिए पनि सार्वजनिक र व्यावसायिक संस्थालाई व्यक्तिको विवरण हेर्ने पहुँच दिन नहुने तर्क गरिन्। त्यसैगरी फम्फा भुसालले आफ्नो विवरण को कसले हेर्यो भन्ने बारेको जानकारी व्यक्ति स्वयम्ले पाउन सक्ने व्यवस्था राख्नुपर्ने तर्क गरिन्।

त्यसैगरी समिति सदस्य झपट बहादुर रावलले एउटा व्यक्तिको गोपनीयताका विषय सम्बन्धित व्यक्तिको अनुमतिविना उसका आफन्तलाई पनि दिन नमिल्ने अवस्थामा सम्पूर्ण विवरणमाथिको पहुँच सर्वसुलभ बनाउन नमिल्ने तर्क गरे। अर्का सदस्य दिलेन्द्र प्रसाद बडू र देवेन्द्र राज कँडेलले पनि अदालत, सुरक्षा निकाय र निर्वाचन आयोगबाहेक अन्य निकाय, संघ÷संस्था वा व्यक्तिले कसैको पनि व्यक्तिगत विवरण हेर्न नसक्ने व्यवस्था मिलाइनुपर्ने बताए।

नेपाली नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने, व्यक्तिका वैयक्तिक र जैविक विवरण तथा राष्ट्रिय परिचय नम्बरसहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र प्रदान गरी एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरी सो प्रणालीलाई राज्यबाट उपलब्ध सेवा सुविधा र राष्ट्रिय विकास योजना एवम् सुरक्षा व्यवस्थासँग आबद्ध गर्ने तथा व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्नका लागि सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सबन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको हो। तर परिचयपत्रमा हुने व्यक्तिको सम्पूर्ण विवरणको गोपनीयता कायम रहन्छ कि रहँदैन भन्नेमा आशंका उब्जिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad