नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी समिति बैठक सुरु भएको छ।
शुक्रबार साँझ साढे ५ बजेबाट बानेश्वरस्थित अर्याल होटलमा नेपाल–खनाल पक्षको स्थायी समितिको अनौपचारिक बैठक बसिरहेको हो।
बैठकमा राष्ट्रिय कार्यकर्ता भेलाको समीक्षा, समसामयिक राजनीतिक विषय, पार्टीभित्रको विवाद आदिका विषयमा छलफल हुने एक नेताले बताए।
‘स्थायी समितिको अनौपचारिक बैठक बसिरहेको हो’, ती नेताले नेपालखबरसँग भने, ‘बैठकमा समसामयिक राजनीतिक विषय, पार्टी भित्रको विवाद आदि विषयमा छलफल हुनेछ।’
ती नेताले भोलि आध्यक्ष ओलीले बोलाएको बैठकमा भने सहभागी नहुने बताए।
‘भोलिको बैठकलाई लिएर छलफल त हुन्छ, अहिलेसम्म बैठकमा नजाने भन्ने नै छ’, उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय समितिको बैठक डाकेर, महाधिवेशनको मिति घोषण गर्ने, केन्द्रीय सदस्य थप गर्ने, पदाधिकारी बर्खास्त गर्ने लगायतका निर्णय गरेपछि एमाले फुटको संघारमा पुगेको छ।
नेपाल–खनाल पषले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला समेत सम्पन्न गरिसकेको छ।

प्रतिक्रिया