प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा चियापान कार्यक्रम आयोजना गर्दैछन्। बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम गर्न लागिएको हो।
एमाले फुटको संघारमा पुगेको बेला ओलीले चियापान कार्यक्रम आयोजना गर्न लागेका हुन्। चियापानमा पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर, ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपाको खनाल-नेपाल समूह भने नजाने भएको छ।
मोबाइल एसएमएसमार्फत ओली समूहले पार्टीका सबै केन्द्रीय सदस्यलाई निम्तोसहितको सन्देश पठाएको छ।
अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह रुष्ट छ। गएको फागुन २८ गते ओलीले महासचिव बाहेक पार्टीका सबै पदाधिकारी खारेज गरेर विभिन्न प्रदेश तथा संगठनमा नयाँ नियुक्त गरेपछि एमालेमा विवाद तीव्र बनेको छ।
विवाद समाधानको लागि सोमबार ओलीले खनाल–नेपाल समूहसँग छलफल गरेका थिए। तर, हिजोको छलफलमा दुबै पक्ष आ-आफ्नो अडानमा कायम रहेपछि एमाले विवाद अझ बढ्ने संकेत देखिएको छ। नेपाल-खनाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी अघि बढाएको छ।
Shares

प्रतिक्रिया