राजनीति


इजरायली राजदूतसँग अध्यक्ष तिमिल्सिनाको अनुरोधः नेपाली कामदार जाने प्रक्रिया सुरु होस्

इजरायली राजदूतसँग अध्यक्ष तिमिल्सिनाको अनुरोधः नेपाली कामदार जाने प्रक्रिया सुरु होस्

नेपालखबर
चैत २, २०७७ सोमबार ११:५८,

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेट गरेका छन्।

दोस्रो कार्यकालका लागि हालै नियुक्त इजरायली राजदूत गोडेरले सोमबार अध्यक्ष तिमिल्सिनाको सिंहदरबारस्थित कार्यकक्षमा भेट गरका हुन्।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच रहेको सुमधुर र मैत्रीपूर्ण सम्बन्धबारे प्रकाश पारेका थिए।

अध्यक्ष तिमिल्सिनाको सचिवालयका अनुसार उनले दुई देशले संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा चासोका विषयहरुमा निकट रहेर सहकार्य गरिरहेको बताएका थिए।

GaneshTimilsina Israel rajdoot

इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिँदै अध्यक्ष तिमिल्सिनाले विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि इजरायलको प्रशंसा गरेका थिए।

‘इजरायलको कृषि क्षेत्रमा काम गरेर तथा कृषि सम्बन्धी विभिन्न तालिम गरेर फर्किएका नेपालीले कृषिमा सफलता हासिल गरेका छन,’ उनले बताएका थिए, ‘उनीहरुले सिकेको सीप र भित्र्याएको प्रविधि अन्य नेपाली कृषकले पनि प्रयोग गरेका कारण हाम्रो कृषि क्षेत्रमा व्यवसायिकता र प्रविधिको प्रयोग बढाएको छ।’

अध्यक्ष तिमिल्सिनाले दुई पक्षबीच सम्झौता भएर हाल रोकिएको ज्येष्ठ नागरिकहरूको स्याहारसुसारमा नेपाली कामदार जाने प्रक्रिया छिटो सुरु गराउन राजदूतमार्फत् इजरायल सरकारलाई अनुरोध गरेका थिए।

उनले यसमा दूतावासले पछिल्लो समय चासो देखाएकोले छिटो नतिजा निस्कने विश्वास व्यक्त गरेका थिए।

त्यसैगरी तिमिल्सिनाले नेपालमा अहिले लगानीमैत्री वातावरण भएकाले इजरायली लगानीकर्तालाई जलविद्युत, पर्यटन र कृषि, सूचना–प्रविधि, खानी लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए।

इजरायलका राजदूत गोडेरले नेपालमा दोस्रो कार्यकालका लागि आउन पाउँदा खुसी व्यक्त गरेका थिए।

GaneshTimilsina Israel rajdoot 2

इजरायलमा वार्षिक ५ सय जना नेपाली ११ महिने कृषि तालिमका लागि जाने गरेको बताउँदै राजदूत गोडेरले अब छिट्टै जेष्ठ नागरिकको स्याहारका लागि नेपाली इजरायल जानेक्रम सुरु हुने जानकारी गराएका थिए।

‘इजरायलमा विदेशी कामदारले पनि स्वदेशी नागरिक बराबरको सेवा सुविधा पाउने गरेका छन्, कामदारबीच कुनै विभेद छैन,’ राजदूत गोडेरले भने, ‘नेपाली कामदारलाई पनि समान अवसर दिने कुरामा इजरायल प्रतिवद्ध छ।’

नेपालमा पर्यटकको रुपमा घुम्न आउँदा इजरायली नागरिक महिनौं बिताउने गरेको र कृषि तथा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको राजदूत गोडेरको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad