सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय मंगलबार बदर गरिदिएपछि संसद् सचिवालयले भोलिदेखि नै संसद् बैठक सञ्चालनको तयारी थाल्ने भएको छ।
सर्वोच्चले ऐतिहासिक फैसला सुनाउँदै १३ दिनभित्र संसद् बैठक सञ्चालनको लागि निर्देशनात्मक आदेश नै दिएपछि बैठकको तयारी हुने भएको हो।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भोलिदेखि नै तयारी गर्ने नेपालखबरलाई जानकारी दिए।
उनले भने, ‘सर्वोच्चले १३ दिनभित्र संसद् सञ्चालन गर्न भनेको छ। त्यसकारणले गर्दा त्यसको भौतिक तयारी भोलिदेखि नै हुन्छ।’
सर्वोच्चले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई निर्देशनात्मक आदेश जारी गरेको हो।
पाण्डेले नेपालखबरसँग भने, ‘प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने प्रावधानअनुसार अघि बढ्नुपर्ने हुन्छ।’
पुस ५ गते विघटन भएको कारण सांसद्हरुको विघटित समयको सेवा सुविधा समेत अन्योलमा परेको थियो। तर सर्वोच्चको फैसलाको प्रकृति हेर्दा सबै पहिलाकै अवस्थामा यथावत् हुने देखिएको उनले बताए।
उनले भने, ‘मैले फैसलाको पाठ त हेर्न भ्याएको छैन तर सेवा सुविधा कुनै कटौती हुने अवस्था छैन।’
Shares

प्रतिक्रिया