राजनीति


जम्मु कस्मिरमा नयाँ युगको सुरुवातः मोदी

जम्मु कस्मिरमा नयाँ युगको सुरुवातः मोदी

नेपालखबर
साउन २३, २०७६ बिहिबार १७:४२,

उनले हालै सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु कस्मिर पुनर्गठन गरेको विषयमा अभिव्यक्ति दिए।

उक्त धारा हटेसँगै जम्मु कस्मिरलाई प्रदान गरिएको विशेषाधिकार खेसिएपपछि भारतमा विपक्षी दलहरुले चर्को विरोध जनाइरहेका छन्।

कस्मिरी जनता पनि यस विषयमा खुशी छैनन्। मोदीले संवोधनका क्रममा जम्मु कस्मिरलाई दिएको विशेषाधिकार हटाउने कार्य साथै लद्दाखलाई अलग प्रदेश बनाउने फैसलाको बचाउ गरे।

नरेन्द्र मोदीको दाबी छ कि यस निर्णयले दुवै प्रदेशको विकास हुन्छ। शान्ति र स्थायित्व आउँछ।

पहिले केन्द्र सरकारको शासनबाट मुक्त जम्मु कस्मिर यतिबेला केन्द्र सरकारको नियन्त्रणमा पुगेको छ। मोदीले जम्मु कास्मिरलाई फेरि पूर्ण राज्य बनाउने र लद्दाखमा विकास तिव्र गतिमा ल्याउने दाबी गरेका छन्।

मोदीले के भने? उनकै शब्दमा...

‘पुरा देशले एक परिवारको तवरबाट एक ऐतिहासिक फैसला लिएको छ। एउटा यस्तो व्यवस्था हटाउने फैसला लिएको छ, जसले जम्मु कस्मिर र लद्दाखका हाम्रा भाइ–बहिनी अनेक अधिकारबाट बन्चित थिए। उनीहरुको विकासमा जे बाधा थियो। त्यो हाम्रो प्रयासले हटेको छ।

जो सपना सरदार पटेल, बाबा साहब आंबेडकर, डाँक्स श्यामा प्रसाद मुखर्जी, अटल जी र करोडौं देशभक्तको थियो, त्यो अब पुरा भएको छ।

जम्मु–कस्मिर र लद्दाखमा नयाँ युगको सुरुवात भएको छ। अब देशका सबै नागरिकको हक पनि समान भएको छ, दायित्व पनि समान भएको छ।

म जम्मु कस्मिर र लद्दाखका सबै नागरिक तथा देशवासीलाई मनबाट बधाई दिन चाहन्छु।

समाजमा कैयौंपटक यस्तो हुन्छ जसले मनमा स्थायी भाव उत्पन्न गराउँछ। यस्तो लाग्छ केही बदलिन सक्दैन।

धारा ३७० को साथमा पनि यही भएको थियो। यसको कारण जम्मु कस्मिर र लद्दाखका जनतालाई कस्तो हानी भइरहेको थियो, त्यसको चर्चा हुन पाएको थिएन।

चिन्ताको कुरा के थियो भने धारा ३७० ले जम्मु कस्मिरका मानिसको जीवनमा के लाभ भयो भनेर तपाइँले कसैसँग सोध्दा उनीहरु केही बोल्न सक्दैनथे।

धारा ३७० र अनुच्छेद एले जम्मु कस्मिरलाई विखण्डन, आतंकवाद र परिवारबाद तर्फ धकेलेको थियो। यसले व्यवस्थाका लागि भ्रष्टाचार बाहेक केही दिएन।

संविधानका यि दुई धाराको प्रयोगबाट पाकिस्तानले केही मानिसलाई भड्काउन हतियारको रुपमा प्रयोग गरे जसका कारण तीन दशकमा लगभग ४२ हजार निर्दोष मानिर मारिए। यो तथ्यांकले कसैको पनि आँखामा आँशु ल्याउनसक्छ।

धारा ३७० का कारण जम्मु कस्मिर र लद्दाखको विकास तिव्र गतिमा हुन सकेन। अब भने जम्मु कस्मिर र लद्दाखका मानिसको वर्तमान अवस्था त सुध्रिन्छ, उनीहरुको भविष्य पनि सुध्रिन्छ।

कुनै पनि सरकार देशको हितको लागि काम गर्दछ, चाहे त्यो कुनै दल या संगठनको सरकार किन नहोस्। यो कार्य निरन्तर चल्नेछ।

सोच्नुहोस्, देशका अन्य राज्यमा बालबालिकालाई शिक्षाको अधिकार छ। तर जम्मु कस्मिरमा बालबालिका शिक्षाबाट बन्चित थिए। ती बालबालिकाले के पाप गरेका थिए?

देशका अन्य राज्यमा छोरीहरुलाई जुन अधिकार मिल्छ, त्यो कस्मिरका छोरीलाई मिल्दैनथ्यो। देशका अन्य राज्यमा सफाइ कर्मचारीका लागि सफाइ कर्मचारी कानुन लागू छ तर कस्मिरमा कर्मचारी हकबाट बन्चित थिए।

देशका अन्य राज्यमा दलितमाथिको अत्याचार रोक्ने कानुन लागू छ तर जम्मु कस्मिरमा यस्तो थिएन। देशका अन्य राज्यमा अल्पसंख्यकको हितको रक्षाको लागि अल्पसंख्यक कानुन छ तर कस्मिरमा यो थिएन।

अब जम्मु कस्मिर र लद्दाखमा सबैलाई समान अधिकार र स्वतन्त्रताको महशुस हुनेछ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad