वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले न्यायाधीशलाई बहस सुन्ने धैर्यता राख्न आग्रह गरेका छन्।
इजलासमा बहसका क्रममा प्रधानलाई कुरा नदोहोर्याउन र विषयबाहिर नजान न्यायाधीश सपना प्रधानले भनेपछि उनले बहस सुन्ने धैर्यता राखिदिनुस् भन्दै आग्रह गरेका हुन्।
त्यसपछि न्यायाधीश प्रधानले ‘हामीले धैर्यता राखेका छैनौं त’ भन्दै प्रश्न गरेकी थिइन्।
त्यसपछि अधिवक्ता प्रधानले ‘श्रीमानहरुको धैर्यतालाई सम्मान गर्छु, मेरो कुरा सुनिदिनुस्’ भन्दै बहस अगाडि बढाएका थिए।
बहसका क्रममा पूर्वमहान्यायाधिवक्ता समेत रहेका प्रधानले संसद् पुनर्स्थापनाको निर्णय भयो भने सरकारले संसद् नबोलाउने भन्ने हुनै नसक्ने बताए।
उनले भने, ‘विपक्षी वकिलले संसद पुनर्स्थापना भएपछि प्रधानमन्त्रीले संसद् बोलाउनुभएन भन्ने के हुन्छ भन्नुभएको छ। अदालतको फैसला मान्दिन भन्ने कुनै सरकार हुनसक्छ र?’
यस्तै प्रधानले सामान्य व्यक्तिले निषेधबाहेकको काम गर्न पाइने भए पनि संवैधानिक व्यक्तिले संविधानले तोकेकोबाहेक अरु गर्न नपाइने बताए।
धारा ५८ को विशेषाधिकार संघलाई भएकाले प्रधानमन्त्रीको व्यक्तिगत अधिकार नभएको बताए। विपक्षीले जहाँ संसद् विघटन भन्ने शब्द उल्लेख छ, त्यहीँ विघटनको अधिकार छ भनेर तर्क गरेको भन्दै खण्डन गरे।
प्रधानमन्त्रीका वकिलले विष्णुको अवतारका रुपमा ओलीलाई प्रस्तुत गरेको बताए।
‘प्रधानमन्त्रीलाई श्री ३ ठान्नुभएको छ, त्यो होइन। विष्णुको अवतारका रुपमा प्रस्तुत गर्नुभयो, उहाँ श्री ३ र श्री ५ होइन’, प्रधानले भने।
उनले संसद् पुनर्स्थापना भए संसद् बोलाउने प्रधानमन्त्री आउने बताए।

प्रतिक्रिया