राजनीति


निर्वाचन रोक्ने चेष्टा गरिँदैछ, हामी त्यसो हुन दिँदैनौँ : अर्थमन्त्री पौडेल

निर्वाचन रोक्ने चेष्टा गरिँदैछ, हामी त्यसो हुन दिँदैनौँ : अर्थमन्त्री पौडेल

नेपालखबर
माघ २४, २०७७ शनिबार १२:५०,

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन्।

 पेशागत महासंघ नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री पौडेलले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन्।

‘निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्’, उनले भने, ‘तोकिएको समयमा निर्वाचन हुन्छ। तपाईंहरु ढुक्क हुनुहोस्।’

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरिसकेको छ। ओली नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवसमेत रहेका पौडेलले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम हो भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको बताए।

मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट पारे। ‘केहीले निर्वाचनमा जाने कुरालाई निरंकुश भनेर भ्रम फैलाइरहेका छन्’, उनले भने, ‘निर्वाचनमा जाने कुरा निरंकुश हुन्छ? भने लोकतन्त्र भनेको के हो भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु।’ उनले मुलुकमा कुनै समस्या प¥यो र त्यो समस्या समाधान गर्न सकिँदैन भने जनतामा जाने निर्णय नै अन्तिम भएको उल्लेख गरे।

अर्थमन्त्री पौडेलले जनताले जसलाई विश्वास गर्छन्, त्यसले नै सरकार सञ्चालन गर्ने हो भन्दै पार्टीबाट अलग भएका साथीहरु निर्वाचनमा जान डराएको धारणा व्यक्त गरे। ‘उहाँहरु चुनाव गर्न पाइँदैन भनेर निर्वाचन आयोगलाई धम्क्याउँदै हुनुहुन्छ’, उनले भनेण्, ‘निर्वाचनसँग डराएर जुन प्रकारले निर्वाचन रोक्ने चेष्टा गर्नुभएको छ। त्यो हामी पूरा गर्न दिँदैनौँ।’

उनले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको स्पष्ट पारे। ‘कम्युनिष्ट पार्टीप्रति जनताको भर र विश्वास गुमाएर पार्टीलाई चकनाचुर र विभाजन गर्न खोजियो’, उनले भने, ‘कम्युनिस्ट आन्दोलन गर्न सक्दछन्। सरकार सञ्चालन गर्न सक्दैनन् भन्ने केही साथीहरुले देखाउनुभयो।’ अर्थमन्त्री पौडेलले कोभिड–१९ का कारणले डुबेको अर्थतन्त्र उकास्ने प्रयास भइरहेको समेत बताए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटन गरेको बताउँदै अहिले प्रतिनिधिसभा मात्र विघटन भएको, तर राष्ट्रियसभा, प्रदेशसभा, संवैधानिक अंग र स्थानीय तह क्रियाशील नै रहेकाले संविधानमा कुनै फरक नपरेको स्पष्ट पारे।

उनले प्रतिनिधिसभा विघटन वैशाखसम्म मात्र भएकाले वैशाखपछि सामान्य परिस्थिति हुने बताए। मुख्यमन्त्री पोखरेलले आफूले पार्टी जोगाउन अन्तिम प्रयास गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारणले पार्टी विभाजनतिर गएको आरोप लगाए। उनले सरकारले राम्रो काम गरेको हुनाले आगामी निर्वाचनमा जनताले फेरि पनि विश्वास गरेर जनमत दिने बताए। उनले केपी शर्मा ओली महाधिवेशनबाट नै अध्यक्षमा निर्वाचित भएकाले केन्द्रीय कमिटीले हटाउन नसक्ने दाबी गरे।

कार्यक्रममा महासंघले २७५ सदस्यीय सातौँ महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ। कमिटीको संयोजकमा बाबुराम थापा र सहसंयोजकमा दयाराम बस्याल रहेका छन्। नवगठित आयोजक कमिटीका सदस्यलाई पार्टी महासचिव पौडेलले शपथ खुवाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad