नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध अहिले संयुक्त आन्दोलनका बारेमा केही नसोचेको बताएका छन्।
शनिबार गृहजिल्ला तनहुँको दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पौडेलले कांग्रेस अहिले अदालतको फैसलाको प्रतीक्षामा रहेको बताए।
‘कांग्रेस अहिले आन्दोलन होइन, अदालतबाट आउने फैसलाको प्रतीक्षामा छ’, उनले भने, ‘संयुक्त आन्दोलनका बारेमा अहिले केही सोचेका छैनौँ।’
नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए। उनले अहिले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिए।
नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै उनले नयाँ राजनीतिक धु्रवीकरण कांग्रेसका लागि अवसर भएको बताए।
‘कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ”, पौडेलले भने।
उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिए। झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ थियो।
नेता पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको भन्दै पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने बताए। ‘एक वर्ष म्याद थप्न पाउने अवधि पनि सकिन लाग्यो, माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंगो लगाएर अधिवेशन गर्नेतर्फ लाग्नुपर्छ’, उनले भने।
कांग्रेसको आगामी महाधिवेशनमा सभापतिबारे सोधिएको सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ नेता पौडेलले अहिल्यै त्यसबारेमा बोल्ने बेला नआएको टिप्पणी गरे।

प्रतिक्रिया