प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलनका लागि कांग्रेस र जनता समाजवादी पार्टी लगायतका दलहरुसँग वार्ता गरिरहेको जनाएको छ।
मंगलबार पार्टी प्रचार विभागले सुरु गरेको नियमित फेसबुक लाइभमा प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिगमनका विरुद्ध एक भएर लड्नका लागि कांग्रेस, जसपा लगायतका प्रमुख दल र नागरिक समाज, वुद्धिजीवी लगायतसँग वार्ता र छलफल गरिरहेको बताए।
उनले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै नेकपासँगै कांग्रेस र जसपा लगायतका दलहरुले संघर्ष कार्यक्रम सार्वजनिक गरेको भन्दै अब आन्दोलनलाई एकीकृत बनाएर लैजाने बताए।
‘नेपाली कांग्रेस जुन प्रमुख प्रतिपक्ष पनि हो, जसपा अर्को राष्ट्रिय पार्टी हो। दुवै पार्टीहरुले वर्तमान सरकारले चालेको असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध आफूलाई प्रस्तुत गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिराखेका छन्’, उनले भने, ‘हामी अझ पनि थप संघर्षका कार्यक्रमहरु अगाडि बढाउन र सकेसम्म संयुक्त संघर्ष गर्न प्रयत्न र वार्ता गरिरहेका छौँ।’ उनले अहिलेसम्म संयुक्त संघर्ष नजुटे पनि अन्य दलका संघर्षका कार्यक्रमसँग समन्वय गर्ने बताए।
उनले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधि सभालाई पुनः क्रियाशील बनाउँदै संविधानको रक्षा गर्नु अहिले प्रमुख कार्यभार भएको बताए।
उनले आफूहरुको संघर्ष प्रतिनिधि सभा विघटनविरुद्धमा मात्रै नभइ राजनीतिक परिवर्तनलाई उल्ट्याउने, संविधानलाई पूर्ण रुपमा हत्या गर्ने, लोकतन्त्रलाई समाप्त गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसकाविरुद्ध पनि भएको बताए।
संयोजक श्रेष्ठले नेपालको प्रतिगमन विरुद्धको आन्दोलनमा नागरिक समाजले खेलेको भूमिकाको प्रशंसा गर्द अहिलेको पहलका लागि धन्यवाद दिए।
उनले सरकार र सत्तारुढ दलका मानिसहरुले नागरिक आन्दोलन, कानुन व्यवसायी, पूर्व प्रधानन्यायाधीशरु र आन्दोलनकारीमाथि आक्रमण गरिरहेको भन्दै उनले भत्र्सना गरे। उनले विचारको स्वतन्त्रतालाई दमन र आक्रमणले कमजोर पार्न नसक्ने चेतावनी दिए।
उनले सर्वोच्च अदालतलगायत सबै संवैधानिक निकायले कानुनअनुसार नै फैसला र निर्णय गर्नेमा आफूहरुको विश्वास रहेको बताए। उनले सर्वोच्च अदालतले किन अन्तरिम आदेश दिएन, पूर्ण इजलासमा किन लगिएन भन्ने प्रश्न पनि अहिलेसम्म रहेको बताए।
प्रधानमन्त्री ओली र उनको समूहले अदालतलाई दुरासयपूर्ण रुपमा प्रचार गरेर आफ्नो पक्षमा फैसला आउछ भनेर प्रचार गरे पनि उनले अदालतले संविधानका आधारमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताए।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको प्रचार विभागले मंगलबारदेखि नियमित फेसबुक लाइभ सुरु गरेको हो। पार्टीको नयाँ फेसबुक पेज नेपाल कम्युनिस्ट पार्टीबाट हरेक दिन दिउँसो ३ बजे लाइभ गरिने केन्द्रीय सदस्य विष्णु रिजालले बताए।
मंगलबार प्रचार विभागको बैठकले गरेको निर्णयअनुसार आजैबाट लाइभ सुरु गरिएको हो।
यो पनि:
- केन्द्रीय सदस्यलाई प्रचण्डको ब्रिफिङः कांग्रेस र जसपासँग सहमति हुँदैछ, ओलीलाई एक्ल्याउँछौं

प्रतिक्रिया