कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताएकी छन्।
२३औँ राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले यस वर्षको ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराले वर्तमान कृषि क्षेत्रको आवश्यकता र चुनौतीलाई सम्बोधन गरेको उल्लेख गरेकी छन्।
धान नेपालीको प्रमुख खाद्यबाली मात्र नभई धर्म, संस्कृति र परम्परासँग जोडिएको महत्त्वपूर्ण बाली भएको बताउँदै स्थानीय तथा जंगली धानका जातको संरक्षण, सम्वर्द्धन र उपयोगले जैविक विविधता, जलवायु सहनशीलता तथा दीर्घकालीन खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्।
मन्त्री चौधरीले धान तथा चामलको आयात घटाउन वर्षे र चैते धानको क्षेत्रफल विस्तार, उन्नत जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइ सुविधा विस्तार, उत्पादन सामग्रीमा सहज पहुँच तथा मूल्य सुनिश्चिततालाई प्राथमिकता दिनुपर्ने बताइन्। स्थानीय तथा जंगली धानका जातको पहिचान, संकलन, संरक्षण र जलवायुमैत्री जात विकासमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया