राजनीति


परराष्ट्रमन्त्री ज्ञवाली आज भारत भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत भ्रमणमा जाँदै

नेपालखबर
माघ १, २०७७ बिहिबार २:१,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन्।

आज र भोली भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत जान लागेका हुन्।

बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। यस्तै नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि बैठकमा छलफल हुने छ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने छन्। भारतकातर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्ने कार्यक्रम छ।

गत वर्ष नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको छ। जसको कारण पनि परराष्ट्रमन्त्रीको भारत भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेपालबाट भारत भ्रमणमा जान लागेका मन्त्री ज्ञवाली सबैभन्दा उच्चपदस्थ व्यक्ति हुन्।

प्रतिनिधिसभा विघटनअघि भारतबाट परराष्ट्रसचिव हर्षबर्धन शृंगला, सेनाध्यक्ष मनोजमुकुन्द नरभणे, खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र सत्तारुढ भाजपाको विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेका थिए।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई सन्देश सुनाउने स्रोतले जनाएको छ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्धलाई पुनः हार्दिक बनाउन परराष्ट्रमन्त्रीको यो भ्रमण सफल हुने दाबी सरकारी अधिकारीले गरेका छन्।

भ्रमण सकेर माघ ३ गते मन्त्री ज्ञवाली स्वदेश फर्किने कार्यक्रम छ।

यो पनि परराष्ट्रमन्त्री दिल्ली उड्नुअघि १५ नागरिक अगुवाको यस्तो सुझाव

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad