नेपाली कांग्रेसले शासन सम्हालेको समयमा भएका कमी कमजोरी अध्ययन गर्न कार्यदल बनाएको छ।
नेपाली कांग्रेस, सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले यस्तो निर्णय गरेको हो। कार्यदलको संयोजकमा डा. सुरेश आचार्य रहेका छन्।
कांग्रेस, सूचना, सञ्चार तथा प्रचार विभागको दोस्रो पूर्ण बैठक आज (मंगलबार) देखि सुरु भएको कांग्रेसले जनाएको छ। सोही विभागले विभिन्न कार्यदलहरु बनाएको हो।
नेपाली कांग्रेसको नेतृत्वमा हासिल राजनीतिक र सामाजिक उपलब्धि अध्ययन गर्न रामचन्द्र घिमिरेको संयोजकत्वमा अर्को कार्यदल बनाइएको छ भने कांग्रेसको नीति र नेतृत्वमा हासिल आर्थिक उपलब्धि अध्ययन गर्न डा. संजय महतोको संयोजकत्वमा कार्यदल बनाइएको छ।
यस्तै कम्युनिष्ट सरकारको भनाइ र गराइ अध्ययन र संक्षेपीकरण कार्यदल संयोजक-गोपाल कुमार झा, मितव्ययी निर्वाचन व्यवस्थापन अध्ययन कार्यदल संयोजक- दिनेश थापा मगर, सामाजिक संजाल समन्वय उपसमिति संयोजक- ई. दिपेश बिष्ट, नेपाली कांग्रेस महिला प्रचार नेटवर्क संयोजक- अञ्जना अर्याल तथा युवा प्रचार नेटवर्कको संयोजकमा विकल राई रहेका छन्।
बैठकले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम विरुद्ध नेपाली कांग्रेसले देशव्यापी रुपमा संचालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउन मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया