ad ad

राजनीति


कांग्रेसको निर्णय : संसद पुनर्स्थापना भए पनि नभए पनि अबको आन्दोलन ओलीलक्षित

कांग्रेसको निर्णय : संसद पुनर्स्थापना भए पनि नभए पनि अबको आन्दोलन ओलीलक्षित

नेपालखबर
पुस १९, २०७७ आइतबार १२:४०,

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा गरेको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पुस २५ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरु घिमिरेले नेपालखबरलाई जानकारी दिए।

आजको बैठकमा धारणा राख्ने सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण सिटौला र जीवनबहादुर शाही सबैले आन्दोलन गर्नुपर्ने धारणा राखेका थिए।

‘प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमको विरोध गर्न सडकमा जानुपर्ने सबैको धारणा रह्यो,’ बैठकमा नेताहरुले राखेको धारणाबारे घिमिरेले भने, ‘अब संसद पुनस्र्थापना भएपनि नभएपनि आन्दोलनमा जानुपर्छ भन्नेमा सबै नेताहरुको एक मत रह्यो।’

सभापति देउवाले आन्दोलनको विषयमा दुईवटा प्रस्ताव गरेका थिए।

‘संसद विघटन गर्ने ओली कदम असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी प्रवृत्तिको छ यसविरुद्ध आन्दोलन गर्नुपर्छ,’ बैठकमा देउवाले भनेका थिए, ‘यदि संसद पुनस्र्थापना नभएमा चुनावको तयारी पनि गर्नुपर्छ। ओलीले चुनाव नगरे उनलाई हटाउन पनि दबाब दिनुपर्छ। अबको आन्दोलन ओलीलक्षित हुन्छ।’

आन्दोलनमै केन्द्रित हुनुपर्नेमा वरिष्ठ नेता पौडेल र कृष्ण सिटौलाले जोड दिएका थिए।

कांग्रेसले आफ्नो भातृ संगठन र पार्टीलाई आन्दोलनमा केन्द्रित पनि गरेको छ।

‘आन्दोलनमा जाने विषयमा सबै एकढिक्का भएका छौं, ओलीको असंवैधानिक कदमविरुद्ध एकमतले आन्दोलनको कार्यक्रम घोषणा भएको हो’, घिमिरेले थपे।

सर्वोच्च अदालतले संविधानको अक्षर, भावना, मर्म अनुसार फैसला गर्दै ओलीका असंवैधानिक कदम सच्याउने पनि कांग्रेसले विश्वास लिएको जनाएको छ।

संविधानमाथि नै प्रहार गरेर संसद विघटन गर्ने ओलीको कदमलाई सर्वोच्च अदालतले सच्याउँछ भन्ने हाम्रो विश्वास हो,’ बैठकमा नेताहरुको भनाई उद्धृत गर्दै घिमिरेले थपे, ‘अहिले अदालतको स्वतन्त्र र निष्पक्ष निर्णयको प्रतिक्षामा हामी बसेका छौं।’

कांग्रेसले यसअघि गत पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। कांग्रेसको अर्को बैठक पुस २७ गते बस्नेछ।

आन्दोलनका कार्यक्रमः
पुस २५ गते देशभरका ३३० प्रदेश सभा क्षेत्रमा सरकारविरूद्ध प्रदर्शन

माघ ३ गते ७५३ स्थानीय तहमा प्रदर्शन

माघ ८ गते ६ हजार सात सय ४३ वडामा प्रदर्शन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .