नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू संसद् भंग गर्ने सरकारको निर्णयको विपक्षमा भए पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन्।
गौतमले प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत जारी गरेको वक्तव्यमा आफू पार्टी फुटको साक्षी बस्न कतै नजाने र पार्टी एकताकै पक्षमा रहेको बताएका हुन्।
वक्तव्यमा भनिएको छ, ‘म अझै एकताको पक्षमा छु, संसद भंगको विरुद्धमा छु। तर पार्टी फुटको साक्षी बस्न कतै जान्न।’
मन्त्रिपरिषद्ले संसद (प्रतिनिधिसभा) भंग र मध्यावधि निर्वाचनको सिफारिस गरेपछि आफूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्न अनुरोध गर्न चाहे पनि राष्ट्रपतिसँग टेलिफोनमा कुरा गर्न सम्भव नभएको बताएका छन्।
गौतमको वक्तव्यमा भनिएको छ, ‘त्यसपछि मैले उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत भनेको थिएँ– यदि उहाँले मन्त्रिपरिषद्को सिफारिसबमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ।’
यसलाई एकपटक मन्त्रिपरिषदमै फर्काइदिन उपयुक्त हुने भन्दै अधिकारीमार्फत राष्ट्रपतिलाई विनम्र अनुरोध गरेको गौतमले बताएका छन्।
‘तर, राष्ट्रपतिले विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गर्नुभएको समाचार सुनेँ। त्यसपछि त्यो दुःखद घटना हो भन्ने निष्कर्षमा पुगेँ’, वक्तव्यमा भनिएको छ, ‘त्यसपछि संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गैरसंवैधानिक कदम हो भन्ने धारणासहित मैले आइतबार नै विज्ञप्ति जारी गरेँ।’
उपाध्यक्ष गौतमले अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेकाले पार्टीको बैठक, भेलामा भाग नलिने निर्णय गरेको बताएका छन्।
उनले भनेका छन्, ‘फेरि पनि पार्टी एकताको पक्षमा छु। त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु।’
‘क.केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्– ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन्। म फुटको साक्षी बस्न सक्दिनँ। म यो पार्टी एकीकरण गराउनेमध्येको नेता हुँ’, उनले भनेका छन्, ‘त्यसैले अहिले पनि एकताको पक्षमा म छु। संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु। तर, दुवैतिरका भेलामा मेरो उपस्थिति हुँदैन। मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ।’
Shares

प्रतिक्रिया