राजनीति


असफलताको संघारमा बीआरआई, पुनर्विचार गर्दै चीन

असफलताको संघारमा बीआरआई, पुनर्विचार गर्दै चीन

फाइनान्सियल टाइम्स
पुस २, २०७७ बिहिबार १३:१९,

मे २०१७ मा मात्रै चिनियाँ राष्ट्रपति सी चिनफिङले करिब ३० मुलुकका राज्यप्रमुख र १३० मुलुकका प्रतिनिधिसामु उभिएर बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई ‘शताब्दीको परियोजना’ घोषणा गरेका थिए। तर, बीआरआईमा गडबडी आउन लामो समय लागेन।

सीको भनाइ अतिशयोक्ति थिएन। यो परियोजनाले खासगरी विकासशील मुलुकमा पूर्वाधार निर्माण गर्न १ ट्रिलियन डलर खर्चिने बाचा गरेको थियो। लगभग सम्पूर्ण रकम आफ्नै वित्तीय संस्थाबाट लगानी गर्ने चीनले बताएको थियो। ‘द इम्पेरर्स न्यु रोड’ पुस्तकका लेखक जोनाथन हिलम्यानका अनुसार यो रकम दोस्रो विश्वयुद्धपछि मार्सल प्लानमार्फत युरोपको पुनर्निर्माणमा अमेरिकाले खर्च गरेको रकमभन्दा सात गुणा (मुद्रास्फिति समायोजन गरेर) बढी हो।

तर, यही साता प्रकाशित तथ्यांक हेर्दा बीआरआईको दृश्य निकै फरक देखिन्छ। सीले चाहेअनुसार यो योजना अघि बढिरहेको छैन। विश्वकै सबैभन्दा ठूलो विकास परियोजना भनिएको बीआरआई असफलतातर्फ बढिरहेको छ। र, यो चीनको पहिलो अन्तर्राष्ट्रिय ऋण संकटमा परिणत हुनसक्छ। चिनियाँ बैंकहरुले दिएको ऋण र संलग्न मुलुकको सहयोगले बीआरआईका परियोजना अघि बढेका थिए। तर अहिले चिनियाँ बैंकहरुले दिएको ऋण स्वाट्टै घटेको छ। त्यसैले बेइजिङ यतिबेला ऋणी मुलुकसँग पुनः छलफलमा अल्झिएको छ।

‘यो सबै उदाउँदो शक्तिका रुपमा चीनले लिँदै गरेको शिक्षाको एउटा पक्ष हो,’ वासिङ्टनस्थित सीएसआईएस नामक थिंक ट्यांकका वरिष्ठ अध्येता हिलम्यान भन्छन्, ‘चीनले गलत तरिका अपनाएको थियो। त्यो तरिका स्वदेशमा ठूला पूर्वाधार परियोजना निर्माणमा सफल भएको थियो। त्यसैले उसले हतारमा विदेशमा पनि लागू गर्ने प्रयास गर्‍यो।’

‘ऐतिहासिक रुपमा हेर्ने हो भने पूर्वाधार क्षेत्रमा देखिएको धेरैजसो बुलन्दी अन्त्यमा मन्दीमा परिणत भएका छन्,’ उनले थपे, ‘चीनले यो जोखिमलाई टार्न सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ अन्य मुलुकसँगको ऋण तिर्ने विषयमा कस्ता सर्त तय हुन्छन् भन्ने विषयमा भर पर्छ। यदि चीनले ऋणीहरुलाई पर्याप्त राहत दिन सकेन भने ऊ ऋण संकटको बीचमा फस्न सक्छ।’

र, यसलाई समर्थन गर्छ, हालैको एक अध्ययनले। बोस्टन युनिभर्सिटीका अध्येताहरुले गरेको अध्ययनअनुसार चाइना डेभलपमेन्ट बैंक र एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइनाले दिने ऋण गएको केही वर्षमा स्वाट्टै घटेको छ। यी दुई बैंकले सन् २०१६ मा सबैभन्दा बढी ७५ अर्ब डलर ऋण लगाएका थिए। तर, गत वर्ष घटेर त्यो ४ अर्ब डलरमा खुम्चेको छ।

यी दुई बैंक चीनको मन्त्रिपरिषद्कै प्रत्यक्ष नियन्त्रणमा रहन्छन्। त्यसैले उनीहरुले राज्यको अंगका रुपमा काम गर्छन्। चीनले विदेशमा सञ्चालन गर्ने विकास आयोजनाहरुले अधिकांश ऋण यिनै दुई बैंकबाट लिन्छन्। तिनले गर्ने भुक्तानीको परिमाण विश्व बैंककै हाराहारीको हुन्छ।

बोस्टन युनिभर्सिटीको तथ्यांकअनुसार सन् २००८ देखि २०१९ का बीचमा यी दुई बैंकले ४६२ अर्ब डलर ऋण लगानी गरे। यो अवधिमा विश्व बैंकले भने ४६७ अर्ब डलर लगानी गर्‍यो।

चिनियाँ बैंकको ऋण लगानीमा यति ठूलो गिरावट आउनु विकासका क्षेत्रमा भूकम्पबराबर हो। यही स्थिति कायम रहे त्यसले पूर्वाधार परियोजना सञ्चालन गर्न आवश्यक पर्ने रकम र उपलब्ध रकमबीच ठूलो अन्तर पैदा गर्नेछ। एसियामा मात्रै यस्तो अन्तर करिब ९०७ अर्ब डलर रहेको एसियाली विकास बैंकको अनुमान छ।

नीति नै परिवर्तन
बेइजिङको संरचनागत नीति परिवर्तन भएकैले चीन विदेशी विकास परियोजनामा लगानीबाट पछि हट्न थालेको विश्लेषकहरु बताउँछन्। ‘विगतमा गरिएका लगानीलाई चीन एकीकृत गरेर पचाउँदैछ,’ चीनको स्टेट काउन्सिलका सल्लाहकार वाङ हुइयाओ भन्छन्।

हङकङ युनिभर्सिटीका प्राध्यापक चेन चिउ भने चीनले विदेशमा गर्ने लगानी घटाएर सबै स्रोत घरभित्रै केन्द्रित गर्न थालेको बताउँछन्। ‘चिनियाँ मिडियामा बीआरआईका विषयमा हुने चर्चा केही वर्षयता निकै घटेको छ। केही हदसम्म विदेशमा विस्तार हुने चीनको महत्वाकांक्षालाई कम गर्न त्यो कदम चालिएको हो। यसले निरन्तरता पाउने अपेक्षा गर्न सकिन्छ,’ उनी भन्छन्।

बेलायती थिंक ट्यांक च्याटम हाउसका वरिष्ठ अध्येता यु चिया बेइजिङले हालै अपनाएको ‘डुअल सर्कुलेसन’ नीतिले चीन र बाहिरी विश्वबीचको सम्बन्धमा परिवर्तन ल्याउने बताउँछिन्। गत मे महिनामा बसेको चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो बैठकमा पहिलो पटक उल्लेख गरिएको यो नीतिले चीनको घरेलु बजारलाई बढी जोड दिन्छ। अर्थात्, बाहिरी विश्वसँगको व्यापारभन्दा आन्तरिक खपतमा बढी जोड दिन्छ।

‘चीन–अमेरिका सम्बन्धमा उतारचढाव आउनुका साथै विदेशी बजारमा चिनियाँ कम्पनीको पहुँच घट्दा बेइजिङका आर्थिक योजनाकारहरुले यस विषयमा पुनर्विचार गरेका हुन्,’ यु भन्छिन्, ‘यदि राज्यको स्वामित्वमा रहेका कम्पनीहरुले नेतृत्वको इच्छाअनुसार घरेलु बजारतर्फ फर्किने निर्णय लिए भने विदेशमा गरिने लगानी पनि त्यही अनुसार घट्नु स्वभाविक हो।’

यही कारण बीआरआई र विदेशमा दिइने ऋणका विषयमा चीनले पुनर्विचार गर्न थालेको विश्लेषकहरुको भनाइ छ। आइन्दा एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकजस्ता बहुपक्षीय संस्थामार्फत ऋण लगानी गर्ने क्रम बढ्न सक्ने वाङ बताउँछन्।

बीआरआईका कमजोरी
तर, विदेशमा लगानी गरिने ऋणको मात्रा बढाउने बीआरआईको सोच नै गलत भएको बेइजिङको यो पुनर्विचारबाट पुष्टि हुन्छ। बीआरआईको कमजोरी के हो भन्ने कुरा २०१७ को बेल्ट एन्ड रोड फोरमको तस्बिरले पनि संकेत गर्छ। राष्ट्रपति सीका साथमा बेलारुसका अलेक्जेन्डर लुकासेन्को, कम्बोडियाका हुन सेन, सर्बियाका अलेक्सान्द्र भुचिस र केन्याका उहुरा केन्याताजस्ता नेता थिए। ती सबै ऋणका लागि कमजोर साख भएका मुलुक थिए।

कुनै पनि मुलुकले ऋण फिर्ता गर्न सक्छ कि सक्दैन भन्ने विषय बीआरआई परियोजनाको पुनर्मूल्यांकनको हिस्सा बन्नैपर्ने बोस्टन युनिभर्सिटी ग्लोबल डेभलपमेन्ट पोलिसी सेन्टरका निर्देशक केभिन ग्यालागर बताउँछन्।

‘यो पुनर्विचार गर्ने समय हो,’ उनी भन्छन्, ‘बीआरआई सी चिनफिङको मुख्य प्राथमिकतामा छ। उनले यसमा धेरै लगानी गरेका छन्। त्यसैले उनले यो परियोजना झट्ट बन्द गर्ने छैनन्। तर, ऋण तिर्ने क्षमताको विश्लेषण उनीहरुले गम्भीरतापूर्वक गर्न आवश्यक छ।’

चीनको खराब ऋणको उदाहरणका रुपमा भेनेजुएलालाई लिन सकिन्छ। २००७ देखि २०१३ सम्ममा चाइना डेभलपमेन्ट बैंकले भेनेजुएलालाई करिब ४० अर्ब डलर ऋण दियो। त्यसले दुई देशबीचको सम्बन्ध बलियो बनायो। भेनेजुएलाका तत्कालीन राष्ट्रपति ह्युगो चाभेजले यसलाई अमेरिकी प्रभुत्वविरुद्धको ‘ग्रेट वाल’ भने।

भेनेजुएलालाई दिइएको धेरैजसो ऋण तेल उद्योगसँग सम्बन्धित थियो। तर, सन् २०१३ मा चाभेजको मृत्यु हुनुअघि नै तेलको बजारमा गडबडी पैदा हुन थालेको थियो। चीनले चाभेजका उत्तराधिकारी निकोलस मदुरोलाई पनि समर्थन गरिरह्यो। जबकि उनी आर्थिक व्यवस्थापनमा असफल भइसकेका थिए।

२०१३ देखि २०१७ सम्ममा चीनले भेनेजुएलालाई थप २० अर्ब डलर ऋण दियो। यतिबेला भेनेजुएला १५० अर्ब डलर ऋण तिर्न नसकेर छटपटाइरहेको छ। यो प्रकरणबाट बेइजिङले महत्वपूर्ण पाठ सिक्नुपर्ने बर्लिनस्थित मेरिक्स नामक थिंक ट्यांकका म्याट फर्चेन बताउँछन्।

पछिल्लो समय महामारीले उदाउँदा अर्थतन्त्रलाई कुँज्याएपछि ऋण तिर्ने समय थप गर्ने क्रम ह्वात्तै बढेको छ। रोडियम ग्रुप नामक कन्सल्टेन्सीका अनुसार सन् २०२० मा चीनले १८ वटा ऋणको भाका लम्ब्याएको छ भने १२ मुलुकसँग छलफल चलिरहेको छ।

अहिलेसम्म बेइजिङले ब्याज भुक्तानीको भाका सार्ने, ऋण तिर्ने अवधि लम्ब्याउने जस्ता उपाय अपनाइरहेको छ। तर, यो अनुभवले बीआरआईप्रतिको चिन्तालाई थप बढाइरहेको छ।

‘बेल्ट एन्ड रोडका माध्यमबाट जोखिम दुईतिरै दौडिन्छ भन्ने बेइजिङले पत्तो पाउँदैछ,’ हिलम्यान भन्छन्, ‘क्षति बेइजिङसम्मै पुग्न पनि सक्छ।’

(हङकङबाट जेम्स किंज र लन्डनबाट जोनाथन व्हीटलीको यो रिपोर्ट बीआरआई सम्बन्धी बहसका लागि प्रस्तुत गरिएको हो) 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad