नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई एउटा हाइड्रो पावरको शेयर विवादमा मुछेर वदनाम गर्न खोजिएको भन्दै नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत स्व.कमान सिंह लामाका परिवारले आपती जनाएका छन्।
लामाकी आमा चिनीमाया लामा, काकीआमा लक्ष्मी लामा, पत्नीहरु म्हारमेन लामा र इन्द्रमाया लामा, छोरा ल्हायुल लामा, भाइहरु इमान सिंह लामा, धमान सिंह लामा लगायत परिवारका १८ जना सदस्यले संयुक्त रुपमा सार्वजनिक अपिल जारी गर्दै प्रवक्ता श्रेष्ठको चरित्र हत्या हुनेगरी आधारहिन दुष्प्रचार गरिएको भन्दै त्यसप्रति आपती प्रकट गरेका हुन्।
कोरोना संक्रमणको कारण नेता लामाको २४ मंसिरमा मृत्यु भएको थियो। उनको मृत्युपछि सुसन कर्माचार्य अध्यक्ष रहेको याम्बालिङ हाइड्रोपावरको शेयर विवादमा प्रवक्ता श्रेष्ठलाई जोडेर विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित गर्दै आएका छन्। जसप्रति लामाको परिवारका सदस्यले पहिलोपटक मुख खोलेको हो।
‘यस दुःखद घडीमा विभिन्न सञ्चार माध्यमबाट हाम्रो परिवार, स्वर्गीय कमानसिंह लामा र हाम्रो अग्रज पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले कम्युनिष्ट आन्दोलनमा पुर्याउनु भएको महत्वपूर्ण योगदान र राजनीतिक जीवनलाई नै समाप्त पार्ने, चरित्र हत्या गर्ने कुचेष्टा र आधारहिन दुष्प्रचार भएकोमा दुःख व्यक्त गर्दै हामी समस्त परिवार त्यस्तो कार्य नगरिदिनु हुन अपिल गर्दछौँ,’ लामाका परिवारका सदस्यले जारी गरेको अपिलमा भनिएको छ।
हिसाबकिताब सम्बन्धि विवाद आफ्नो परिवारको नितान्त पारिवारिक तथा निजी मामला भएकाले असम्बन्धित पक्षबाट अनावश्यक हस्तक्षेप र दुष्प्रचार भएको भन्दै लामाको परिवारले त्यस्तो प्रचार नगर्न पनि सबैमा आग्रह गरेको छ।
‘निर्वाध रुपमा निर्माणाधिन याम्बालिङ हाइड्रो पावरको आन्तरिक हिसाबकिताब मिलान गर्ने सम्बन्धमा सहमती असहमती आउनु स्वाभाविकै हो। उक्त समस्यालाई समाधान गर्न परिवार तथा अग्रजहरुले सामानजस्यताका लागि आग्रह गरेकै हो,’ अपिलमा भनिएको छ, ‘यो हाम्रो परिवारको नितान्त पारिवारिक तथा निजी मामला भएकाले असम्बन्धित पक्षबाट अनावश्यक हस्तक्षेप र दुष्प्रचार नगरिदिनु हुन यस दुःखद् घडीमा सबैमा अनुरोध गर्दछौँ।’
यस अघि उक्त हाइड्रोका अध्यक्ष सुसन कर्माचार्यका श्रीमान् लक्ष्मणकृष्ण राजभण्डारीले पनि शेयर विवादमा प्रवक्ता श्रेष्ठलाई जोडेर बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए। यस विषयमा भण्डारीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरसमेत यथार्थ जानकारी गराइसकेका छन्।
कमानसिंह लामाका परिवारले जारी गरेको अपिल


प्रतिक्रिया