राजनीति


डा. केसीको मात्रै होइन सबै संक्रमितको उपचार खर्च सरकारले व्यहोर्नु पर्छ : मिश्र

डा. केसीको मात्रै होइन सबै संक्रमितको उपचार खर्च सरकारले व्यहोर्नु पर्छ : मिश्र

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ७:३२,

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कोरोना संक्रमित सबै नागरिकको सरकारले निःशुल्क उपचार गर्नुपर्ने बताएका छन्। उनले कोरोना संक्रमित डा. गोविन्द केसीको उपचार खर्च सरकारले गर्नु राम्रो भएको प्रतिक्रिया समेत दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत डा. केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी दिएको केही समयमै ट्विटरमार्फत नै संयोजक मिश्रले डा. केसी वा कुनै नेताको मात्र नभई सबै नागरिकको निःशुल्क उपचार गर्ने बताएका हुन्।

उनले निजी लगायतका सबै अस्पतालको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने भन्दै त्यसका लागि निजी अस्पतालसँग विशेष सहमतिमा पुग्नुपर्ने बताए।

‘डा गोविन्द केसीको कोरोना उपचार खर्च सरकारले गर्ने निर्णय गर्नु साह्रै राम्रो तर महाव्याधीमा डा केसी या कुनै नेताको मात्र होइन कोरोना संक्रमित सबै नागरिकको निजी लगायत सबै अस्पतालमा उपचार खर्च सरकारले बेहोर्नु पर्छ। त्यसका लागि निजी अस्पतालहरूसँग विशेष सहमतिमा पुग्नुपर्छ’, शनिबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा संयोजक मिश्रले लेखेका छन्।

संयोजक मिश्रले अर्को ट्विटमा सरकारले कोरोना संक्रमितको उपचारका लागि रकम जुटाउन सकिँदैन भन्न अमानवीयता भएको बताएका छन्। उनले रकम जुटाउन अनावश्यक खर्च कटौती गर्ने, रकमान्तर गर्ने, पुरक बजेट ल्याउनेदेखि ऋणको मौद्रिकीकरण गर्नेसम्मका उपाय सुझाएका छन्।

‘भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले यस्तो समयमा खर्चको जोहो गर्न सकिँदैन भन्नु अमानवीयता हो रकम जुटाउन अनावश्यक खर्च कटौती गर्ने, रकमान्तर गर्ने, पुरक बजेट ल्याउनेदेखि ऋणको मौद्रिकीकरण (debt monetisation) गर्नेसम्मका अनेकौँ उपायहरू छन्’ उनले ट्विटरमा लेखेका छन्।

डा. केसी बिहीबार कोरोना पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन्।

डा‍. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई रुघाखोकी, ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएको छ।

सरकारले यसअघि राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको पनि उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो।

केसी बुधबार कोरोना पुष्टि भएपछि मेडिसिटी अस्पतालमा उपचाररत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad