राजनीति


यी हुन् कमलाका पति अर्थात् अमेरिकाका पहिलो ‘सेकेन्ड जेन्टलम्यान’

यी हुन् कमलाका पति अर्थात् अमेरिकाका पहिलो ‘सेकेन्ड जेन्टलम्यान’

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ११:६,

अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएर कमला ह्यारिसले यसैसाता इतिहास रचिन्। सँगसँगै उनका पति डगलस एमहफले पनि इतिहासमा आफ्नो नाम लेखाउने भएका छन्।

एमहफ अमेरिकाको पहिलो ‘सेकेन्ड जेन्टलम्यान’ बन्ने भएका छन्।

अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिका पत्नीलाई क्रमशः फर्स्ट लेडी र सेकेन्ड लेडी भन्ने चलन छ। तर हालसम्म अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपति पदमा पुरुष मात्रै निर्वाचित भएका थिए। तसर्थ, एमहफलाई सेकेन्ड जेन्टलम्यान, सेकेन्ड हसब्यान्ड, सेकेन्ड ड्युज जे भनिए पनि अमेरिकाको बदलिँदो राजनीतिक र लैंगिक मान्यताको प्रतिबिम्बन उनले गर्नेछन्।

५६ वर्षीय एमहफ यहुदी समुदायका हुन्। उनी पेसाले वकिल हुन्। ह्यारिस र एमहफको विवाह सन् २०१४ मा भएको थियो। एमहफले ह्यारिसलाई चुनावी अभियानमा पनि सघाउँदै आएका छन्। अगस्टमा डीएलए पाइपर नामक ल फर्मबाट छुट्टी लिएर ह्यारिसँगै चुनावी मैदानमा खटेका थिए।

उनी सार्वजनिक मञ्चमा देखिँदैनथे। ‘कमला’ लेखिएको टी–सर्ट लगाएर उनी मञ्चको पछाडि या भीडको किनारामा उभिएका हुन्थे। तर, उनी सामाजिक सञ्जालमा सक्रिय छन्। गत वर्ष एक कार्यक्रममा एक प्रदर्शनकारीले ह्यारिसको माइक खोसेपछि एमहफ दौडेर मञ्चमा उक्लेका थिए। त्यसपछि धेरैको ध्यान उनीतर्फ सोझिएको थियो। 

एमहफ सन् १९६४ मा न्युयोर्कमा जन्मेका थिए। त्यसपछि उनको परिवार न्युजर्सी र पछि लस एन्जलस बसाइँ स¥यो। क्यालिफोर्निय स्टेट युनिभर्सिटी र युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया स्कुल अफ लमा अध्ययन गरेका उनी सफल वकिल बने।

एमहफसँग ‘ब्लाइन्ड डेट’ मा आफ्नो भेट भएको ह्यारिसले बताएकी छन्। त्यसको अर्को वर्ष उनीहरुको विवाह भएको थियो।

‘कमलाको साथमा रहँदा थुप्रै कुराहरुप्रति मेरा आँखा खुले, जसलाई मैले पहिले देख्न सकेको थिइन्,’ एमहफले एउटा अन्तर्वार्तामा भनेका छन्।

एमहफले यसअघि फिल्म निर्माता क्रिस्टिन एमहफसँग विवाह गरेका थिए। १६ वर्षको दाम्पत्यपछि २००८ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो। उनीहरुका दुई सन्तान छन्।

ह्यारिसका सौतेला सन्तानले उनलाई ‘ममाला’ भन्ने गर्छन्।

‘मेरो लागि सबैथोक भनेको मेरो परिवार हो,’ जो बाइडेनले उनलाई उपराष्ट्रपतिको उम्मेदवार चयन गरेपछिको पहिलो भाषणमा ह्यारिसले भनेकी थिइन्, ‘मैले आफ्नो करिअरमा अनेकौँ पदवी पाएकी छु। निश्चय नै ‘उपराष्ट्रपति’ पनि निकै ठूलो पदवी हो। तर, मेरो लागि सबैभन्दा ठूलो अर्थ राख्ने पदवी भने ‘ममाला’ हो।’ एजेन्सी

यो पनिः
- दिदीबहिनीको यो जब्बर जोडी : मायाको साथले कमला बनिन् अमेरिकाको पहिलो महिला उपराष्ट्रपति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad