नेकपा प्रचार विभागका उपप्रमुख समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज पार्टी सचिवालयको कुनै बैठक नरहेको बताएका छन्।
उनले विगतमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा लाइक माइन्डेड (आफूसँग मिल्ने) नेताहरुसँग गर्ने गरेको छलफलको निरन्तरता मात्रै भएको बताए।
‘यो औपचारिक वा अनौपचारिक कुनैपनि बैठक होइन। पार्टी विधान र नियमावलीले यसलाई चिन्दा पनि चिन्दैन। दुवै अध्यक्षबीचको सहमतिमा महासचिवले बैठक बोलाउने गरिन्छ,’ थापाले नेपालखबरसँग भने, ‘महासचिवलाई मैले बैठकको बारेमा सोधेँ। उहाले जानकारी नभएको बताउनु भएको छ।’
दुवै अध्यक्षको सहमतिमा मात्रै नेकपाको बैठक हुने बताउँदै थापाले भने, ‘विगतमा खुमलटार, अगेनो वा अन्य स्थानमा लाइक माइन्डेड नेताहरुबीच हुने गरेको छलफलको निरन्तरता मात्रै हो।’
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
श्रेष्ठका अनुसार सबै सचिवालय सदस्यहरुलाई बैठकको बारेमा खबर गरिएको छ।
‘बैठक भनेर कसैलाई जानकारी आएको छैन। पार्टी प्रवक्ताको काम झुठो कुरा फैलाउने होइन,’ थापाले भने।
नेकपाको प्रचार विभाग प्रमुख श्रेष्ठ हुन् भने थापा सोहि विभागको उपप्रमुख हुन्।
याे पनि:
- प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक, ओली पक्ष भन्छ- कुनै जानकारी छैन
- बैठक राख्न ओली तयार नभए, प्रचण्ड–नेपाल पक्षको यस्तो छ ‘प्लान बी’

प्रतिक्रिया