प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच रहेका समस्या संवादमार्फत् समाधान हुने बताएका छन्।
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताउँदै आपसी समस्या संवादबाट सुल्झने बताएका हुन्।
नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष नरवणेले शुक्रबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
‘भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्त गर्नुभयो,’ प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले बताएका छन्।
भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताएका थिए।
साथै प्रधानमन्त्रीले दुई देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराबारे बताएका थिए।
भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव भरत पौड्याल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायत उपस्थित थिए।
तीन-दिने भ्रमण पुरा गरी उनी आजै भारत फर्किने कार्यक्रम छ।

प्रतिक्रिया