मेलम्ची खानेपानी आयोजनाको जमानतमा नोक्सानी असुलउपरबापतको मुद्दा नेपाली बैंकहरुले जितेका छन्।
चाइना रेलवे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकको ग्यारेन्टीमा नेपालको हिमालयन बैंक र बैंक अफ काठमाडौंबाट जमानत रकम लिएको थियो। जमानत रकम नोक्सानीउपर भएको उजुरीमा नेपाली बैंकले मुद्दा जितेका हुन्।
चिनको झेङजु इन्टरमिडियट पिपल्स कोर्टले बैंक ग्यारेन्टीको पैसा फिर्ता गर्न आदेश दिएको हो। यसको जानकारी बैंकमा आइसकेको हिमालयन बैंकका सीईओ अशोक राणाले बताए।
उनले भने, ‘अदालतले पहिलेदेखि नै यो रकम फिर्ता हुनुपर्नेमा सकारात्मक कुरा नै राखेको थियो। अहिले फैसला नै गरेको छ। अब आजभोलिमा नै रकम पनि सायद फिर्ता हुन्छ होला।’
चाइना कन्स्ट्रक्सन बैंकले नेपालको बैंक आफ काठमाण्डुलाई ९० करोड रुपैयाँबराबरको रकम फिर्ता गर्नुपर्नेछ भने हिमालयन बैंकले ६६ करोड रुपैयाँ पाउनुपर्नेछ।
नेपाली बैंकहरुको यो रकम आठ वर्षदेखि फसिरहेको थियो।
२०६५ सालमा मेलम्ची आयोजनामा काम गर्न ठेक्का पाएको चिनियाँ रेल्वे कम्पनीले चिनियाँ बैंकको ग्यारेन्टी ल्याए पनि यी दुई नेपाली बैंक जमानत बसेका थिए।
तर चिनियाँ ठेकेदार कम्पनीले काम गर्न ढिलो गरेको भन्दै नेपाल सरकारले २०६९ सालमा ठेक्का सम्झौता तोडेको थियो। तर सरकारले भने यी दुई बैंकको जमानत रकम लिएको थियो। यी बैंकहरुले भने चिनियाँ ठेकेदार कम्पनीले ग्यारेन्टी ल्याएको चिनियाँ कम्पनीसँग रकम लिनुपर्ने थियो। ग्यारेन्टी दिएको चाइना कन्स्ट्रक्सन बैंकले उक्त रकम दिन आनाकानी गर्दा नेपाली बैंकहरुले मुद्दा दायर थिए। अहिले नेपाली बैंकले मुद्दा जितेका हुन्।

प्रतिक्रिया