सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ। मन्त्रिपरिषद् पुनर्गठनलगत्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय श्रोतका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव बनाइएको छ। यसअघि पनि उनी सामान्य प्रशासन मन्त्रालयमै थिए।
त्यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयमा र उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ।
सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ। सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा र ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।
Shares

प्रतिक्रिया