राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवारले मनोनयन दर्ताका लागि २१ जना समर्थक अनिवार्य गर्नुपर्ने व्यवस्था भएपछि उम्मेदवार बन्न चाहने प्रतिनिधिहरूलाई समर्थक जुटाउन सकस देखिएको छ।
महाधिवेशन स्थलमा नयाँ अनुहार मात्र होइन, पार्टीभित्र चिनिएका र स्थापित मानिएका नेताहरू समेत आवश्यक समर्थक जुटाउने विषयमा ढुक्क देखिएका छैनन्। प्रतिनिधिहरूको ठूलो संख्या केन्द्रीय सदस्यको उम्मेदवारतर्फ आकर्षित हुँदा समर्थकको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
कतिपय आकांक्षीहरू समर्थक खोज्दै प्रतिनिधिहरूसँग भेटघाट र छलफलमा जुटेका छन् भने केहीले २१ जना समर्थकको प्रावधानले प्रतिस्पर्धालाई थप कठिन बनाएको बताएका छन्। उम्मेदवारी दर्ताको समय नजिकिँदै जाँदा महाधिवेशनस्थलमा समर्थक जुटाउने दौडधुप र चुनावी चहलपहल बढ्दो छ।
रास्वपाको विधानअनुसार केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्न २१ हजार रूपैयाँ, एक जना प्रस्तावक र २१ जना समर्थक जुटाउनुपर्ने हुन्छ। देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूमध्ये धेरैजसो केन्द्रीय सदस्यको आकांक्षी रहँदा समर्थक बस्नेहरू जुटाउन सकस देखिएको हो।
रास्वपाको सांसद समेत रहेकी निशा डाँगी केन्द्रीय सदस्य पदका लागि महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग मत मागिरहँदा समर्थक खोज्न भने बाँकी रहेको बताउँछिन्।
‘उम्मेदवारी दिने बेलामा समर्थक खोजौँला नि,’ उनले हाँस्दै भनिन्, ‘हिजो धेरैले म प्रस्तावक समर्थक बस्छु भन्ने धेरैजसो भेटेको थिएँ। आज पनि भेट्छु होला। तर ठ्याक्कै मेरो उम्मेदवारीको समर्थक प्रस्तावक को? भन्ने निर्क्योल भइसकेको छैन।’
आफ्नो उम्मेदवारीमा भूगोल मिलाएर समर्थक राख्ने सोचेको उनले बताइन्। मधेसी समुदाय, महिला, दलीय, अपांगता भएका तथा अल्पसंख्यक समुदायलाई समेत समेट्ने तयारी रहेको उनको भनाइ छ।
सर्लाहीको लालबन्दी नगरपालिकाबाट आएकी प्रतिनिधि अर्चना झा केन्द्रीय सदस्यमा चुनाव लड्ने योजना बनाएकी छन्। तर समर्थक जुटाउनका लागि उनलाई सकस परेको छ। हाल केन्द्रीय विभाग सदस्य रहेकी उनले मुस्किलले ६ जना समर्थक र एक जना प्रस्तावक फेला पारेकी छन्। बाँकी १५ जना समर्थक खोज्नका लागि उनी चर्को घाममा महाधिवेशनस्थल चहारिरहेकी छन्।
‘साथीहरूले भनिरहेको छ म खोज्छु। तिमी उम्मेदवारी दर्ताको तयारी गर,’ झाले भनिन्, ‘तर आफूलाई भन्नै डर लागिराछ। मधेसबाटै आउनुभएको धेरै साथीहरू त हुुनुहुन्छ। तर उहाँहरू आफैँ उम्मेदवार बन्न खोजिरहनु भएको छ। एक जना उम्मेदवारको समर्थक/प्रस्तावकले अरूको समर्थक/प्रस्तावक बस्न पाइँदैन। मलाई लाग्छ कि त्यो कारणले पनि मैले समर्थक भेटिरहेको छैन।’
रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ। आइतबार उद्घाटन सत्र सकिएपछि सोमबार (आज) देखि रास्वपाको बन्दसत्र सुरु हुँदैछ। बन्दसत्र सकिएपछि हुने निर्वाचनका लागि यतिबेला प्रतिनिधिहरू मत माग्न थालिसकेका छन्।
Shares

प्रतिक्रिया