कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई अविश्वासको प्रस्ताव ल्याउने पक्ष र मुख्यमन्त्री शाहीलाई छलफलका लागि नेकपाका अध्यक्षद्वयले काठमाडौं बोलाएका छन्।
कर्णालीको विवादले गम्भीर रुप लिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई काठमाडौं बोलाएका हुन्।
‘उहाँहरु दुबै पक्षलाई आजै काठमाडौं आउन केन्द्रबाट निर्देशन आएको छ,’ एक नेताले भने, ‘अहिले जारी सबै गतिविधि बन्द गर्न निर्देशन समेत दिइएको छ।’
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने गरी पार्टी संसदीय दलमा उनीविरुद्ध पार्टीका बहुमत सदस्यले आइतबार अविश्वासको मत दर्ता गराएका थिए।
त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई भेटी सो प्रस्ताव फिर्ता लिनका लागि निर्देशन दिन आग्रह गरेका थिए।
‘आज मंगलबार विहान ओली र प्रचण्डबीच भएको छलफललगत्तै प्रधानमन्त्री ओलीले आँफै फोन गरेर अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गर्ने यामलाल कँडेल र मुख्यमन्त्री शाहीसहितका पक्षलाई काठमाडौं बोलाउनुभएको छ,’ ती नेताले भने, ‘अब नयाँ खालको सहमति जुट्नेछ।’
याे पनि: अविश्वास मतबाट नेपाल पक्ष हट्नुका यस्ता छन् कारण
यसअघि मंगलबार नै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका ७ जनाले हस्ताक्षर फिर्ता लिने घोषणा गरेका थिए।
शाहीले मंगलबार नै प्रदेश सभामा नेपालपक्षीय सांसद कुर्मराज शाहीलाई सचेतक तोकिसकेका छन् भने एक मन्त्रालयसहित महत्वपूर्ण नियुक्तिमा बाँडफाँड गर्नेबारे कुराकानी सकारात्मक भएपछि नेपाल पक्षले हस्ताक्षर फिर्ता लिएको बताइएको छ।
यसैबीच प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर अविश्वास प्रस्ताव अगाडि नबढाउन र तुरुन्त काठमाडौं आउन निर्देशन दिएका हुन्।
याे पनि:
- कर्णाली मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्ने १८ सांसदको समूहमा विभाजन
- मुख्यमन्त्री हटाउने प्रस्तावबाट नेपाल पक्ष पछि हट्यो, मन्त्रीहरुलाई राजीनामा नगर्न नेम्वाङको सुझाव

प्रतिक्रिया