ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका ७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ।
संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले बुधबार बीओपीकाे उद्घाटन गरे।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गुल्म ताप्लेजुङ मातहतमा स्थापना भएको सो बिीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुने सशस्त्रले जनाएकाे छ।
सीमानाका भन्दा १२ किलोमिटर वर कञ्चनजंगा संरक्षण परिषद्को दुईवटा दुईतले घरमा स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ।
सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित सो गुल्मबाट त्यसतर्फ खटिएको उक्त टोली यही असोज १८ गते बेलुका त्यसठाउँमा पुगेको हो।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी , सशस्त्र प्रहरि अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, गृह मन्त्रालयका उपसचिव भुपेन्द्र सापकोटा लगायतका उच्च अधिकृत सहभागी थिए।
यसैगरी आजै संखुवासभाको किमाथांकामा पहिले नै स्थापना भएको बिओपिको नयाँ निर्माण हुने भवनको शिलान्यास समेत गरिएकाे एपीएफले जनाएकाे छ।
Shares

प्रतिक्रिया