ad ad

राजनीति


कुलमानलाई विद्युत् प्राधिकरणमा निरन्तरता दिने प्रस्ताव बिहीबार मन्त्रिपरिषदमा

कुलमानलाई विद्युत् प्राधिकरणमा निरन्तरता दिने प्रस्ताव बिहीबार मन्त्रिपरिषदमा

नेपालखबर
भदौ २२, २०७७ सोमबार १५:२८,

उर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन बिहीबार बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने भएको छ।

उर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उर्जामन्त्री वर्षमान पुनले बिहीबार बस्ने मन्त्रीपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेका हुन्।

‘मन्त्रालयले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लैजान फाइल तयार गरिसकेको छ’, ती अधिकारीले सोमबार भने, ‘प्रस्ताव लैजानुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यस विषयमा छलफल गर्ने कुरा भएको हो।’

नेकपाका सचिवालयका एक नेताका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सोमबार बिहान भएको भेटवार्तामा घिसिङको पुनर्नियुक्तिबारे छलफल भएको छ।

‘आज प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच घिसिङलाई निरन्तरता दिनेबारे छलफल भयो तर, अझै टुंगिएको छैन’, सचिवालयका ती नेताले भने, ‘घिसिङलाई निरन्तरता दिन प्रधानमन्त्री अझै त्यत्ति सकारात्मक हुनुहुन्न तर, जनताको पनि माग भएकाले विस्तारै वातावरण सकारात्मक बन्छ होला।’

पहिलो चार वर्षे कार्यकालमा लोडसेडिङ अन्त्य गरेर नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजान नेतृत्व गरेका घिसिङलाई पुनर्नियुक्ति दिन नागरिक तहबाटै व्यापक माग भइरहेको छ।

घिसिङ आफैंले भने केही दिनअघि विज्ञप्ती मार्फत् प्रधानमन्त्री ओली र मन्त्री पुनको नेतृत्व र योजना अनुसार आफुले काम गरेर परिणाम निकालेको बताएका थिए।

कार्यकारी निर्देशक घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदौ, आइतबार सकिँदै छ। उनलाई त्यसअघि नै पुनर्नियुक्ति दिएर निरन्तरता दिने तयारी मन्त्रालयले गरेको हो।

त्यही तयारी अनुसार मन्त्री पुनले दुई हप्ताअघि प्रधानमन्त्री ओलीसँग भेटेर छलफल गरेका थिए। जसमा आफुले प्रधानमन्त्री ओली घिसिङलाई निरन्तरता दिन सकारात्मक रहेको पाएको मन्त्री पुनले बताएका थिए।

मन्त्रीपरिषद बैठक बिहीबार मात्रै बस्ने भएपछि मन्त्री पुन सोमबार गृहजिल्ला रोल्पातर्फ लागेका छन्। बुधबार काठमाडौं फर्केर बिहीबारको बैठकमा प्रस्ताव लैजाने मन्त्री पुनको तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .