ad ad

समाज


रथ यात्राकाे झडपबाट उत्पन्न संक्रमण जोखिम पाँच दिनपछि थाहा हुन्छ : जनस्वास्थ्य प्रमुख

रथ यात्राकाे झडपबाट उत्पन्न संक्रमण जोखिम पाँच दिनपछि थाहा हुन्छ : जनस्वास्थ्य प्रमुख

उजिर कार्की
भदौ २२, २०७७ सोमबार १५:३१,

निषेधाज्ञाकै बेला ललितपुरको पुलचोकमा सयौं युवा भेला हुँदा पनि प्रशासनले पत्तो पाएन।

रातो मत्स्येन्द्रनाथको रथ राखिएको स्थानबाट एक सय मिटर उत्तरमा पुलचोक प्रहरी प्रभाग छ। त्यसको पूर्व मंगलबजारमा छ अर्को प्रहरी प्रभाग। तीन सय मिटर दक्षिण जावलाखेलमा त प्रहरी परिसर ललितपुरको कार्यालय नै छ।

तर गत बिहीबार निषेधाज्ञाका बेला मत्स्येन्द्रनाथको रथ तान्न पुलचोकमा सयौं युवा भेला भइसक्दा पनि प्रहरीले त्यसलाई रोकेन। जसका कारण स्थिति प्रहरीको नियन्त्रणबाहिर गयो। भेला भएका युवाले विना विधि, बिना अनुमति नै रथ तान्न थाले।

त्यहाँस्थित दमकल कार्यालयबाट पुलचोकतर्फ रथ बढाउन थालेपछि मात्रै प्रहरीले त्यसलाई रोक्न खोज्यो। त्यसक्रममा लामोसमय प्रहरी र स्थानीयबिच झडप भयो। कोरोना महामारीका कारण चैत ११ गतेदेखि राजधानी बिभिन्न स्वरुपमा झण्डै बन्दकै अवस्थामा छ।

कहिले लकडाउन कहिले निषेधाज्ञा र कहिले कडा तथा कहिले खुकुलोरुपमा गतिबिधिमा नियन्त्रण गरिएको छ। कोरोना संक्रमणको जोखिमसँगै राजधानी खुल्न नपाएको ६ महिना हुन लाग्यो।

जोखिम दिनदिनै बढ्दो छ। बढ्दो जोखिमकै कारण प्रशासनले धार्मिक, सामाजिक सबै काममा रोक लगाएको छ। अत्यावश्यक बाहेकका काम बन्द छन्।

तर गत बिहीबारको भीडले संक्रमणलाई स्थानीयवासी लगायतलाई थप सन्त्रास बढायो।

भीड नियन्त्रण गर्न पुगेका केही प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यो दिनको झडपमा प्रहरीमाथि जाइलाग्ने स्थानीयमा पनि कोरोना देखिएको छ।

प्रहरीले पक्राउ गरेका २० जनामध्ये केहीको रिपोर्ट आउन बाँकी छ। अहिलेसम्म रिपोर्ट आएका ११ मध्ये ६ जनालाई कोरोना संक्रमण देखिएको छ। यसबाटै प्रस्ट हुन्छ संक्रमण समुदायमा फैलिइसकेको छ।

तर यहि अवस्थाबीच आइतबार प्रशासन र स्थानीय समुदायबीच भएको सहमतिका आधारमा सुरु गरिएको रथ यात्राका क्रममा सयौं भेला भए पुलचोकमा।

सदाझैं तामझामका साथ यस वर्षको रथ यात्रा भएन। तर आइतबार पुलचोकमा जुन माहोलबीच रथ यात्रा गरियो त्यसले पनि संक्रमण नियन्त्रण गर्ने काम जटिलता थपेको अनुमान गरिएको छ।

त्यो भीडमा जम्मा भएका कसले कसलाई भेटे? स्थानीयको मात्रै होइन त्यहाँ पुगेका प्रहरीको पनि हिसाव छैन। स्थानीय प्रशासनसँगै कुनै योजना छैन।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले त्यस घट्नाबाट उत्पन्न जोखिमको कुनै लेखाजोखा नभएको र अहिलेसम्म यस विषयमा छलफल नै नगरेको बताए। जोखिम बढेको स्वीकारे पनि अब के गर्ने भन्नेबारे उनी जवाफविहिन भए।

तर स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले यसको नतिजा एक हप्तामा देखिने बताए। उपत्यकाका अन्य जिल्लाको तुलनामा ललितपुर केही कम जोखिममा देखिए पनि अब स्थिति त्यस्तो नरहने आकलन गरे।

‘सुरक्षाकर्मीदेखि रथ तान्न सहभागीले पनि सतर्कता अपनाएकाले भयावह हुने अवस्था नहोला तर जोखिम पक्कै बढाउँछ, यसबारे सहि आकलन गर्न पनि पाँच दिन पर्खिनैपर्छ’, उनले भने।

पहिचान भएका संक्रमित मानिस त्यहाँ पुगेका छैनन्। तर त्यहाँ पुगेका सबै संक्रमणमुक्त थिए भन्ने अवस्था छैन।

जनस्वास्थ्य कार्यालयको पनि त्यसबारे अहिले नै कुनै योजना छैन। तर संक्रमित भए कन्ट्याक्ट ट्रेसिङ गर्ने गेलालले बताए।

तर त्यो भीडमा कन्ट्याक्ट ट्रेसिङ गर्न सहज छैन।

अहिले नै अनुमान गर्न गाह्रो भएपनि पाँच दिनपछि यसको नतिजा देखिन थाल्ने उनले बताए। ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले भने सामाजिक दूरी कायम गरिएको, मास्क, स्यानिटाइजरको प्रयोग गरिएकाले जोखिम बढ्ने अवस्था नरहेको दाबी गरे।

स्वयंसेवकलाई मापदण्ड अनुसार नै परिचालन गरिएको महर्जनले बताए। त्यहाँ रथ तान्नका लागि ५०१ जना स्वयंसेवक खटाइएको थियो। तीमध्ये २५ जना आउन नपाएको र अरु को को आएका थिए भन्ने सूची नै रहेको अध्यक्ष महर्जनले बताए।

अब रातो मत्स्येन्द्रनाथको रथ भदौ २९ गते बुंगमती लगिने छ। २९ गते लैजानका लागि साइत जुरेको महर्जनले बताए। बुंगमती लगेको चार दिनमा पुनः रथ खोलिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .