राजनीति


रुसले भन्योः जसलाई हाम्रो खोपमा विश्वास छैन, उहाँहरुले आफैँ बनाउनुहोला

रुसले भन्योः जसलाई हाम्रो खोपमा विश्वास छैन, उहाँहरुले आफैँ बनाउनुहोला

नेपालखबर
साउन २८, २०७७ बुधबार १०:५४,

कोरोनाविरुद्धको खोपलाई शक्तिशाली राष्ट्रले कसरी प्रतिष्ठाको विषय बनाएका छन्, त्यो मंगलबार रुसले पहिलो खोप दर्ता गरेपछि देखियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले बनाएको खोप प्रभावकारी रहेको भन्दै अर्को महिनादेखि व्यापक उत्पादन सुरु गर्ने बताए।

रुसी नियामक निकायले खोप प्रयोगको अनुमति दिइसकेको छ।

सो खोपको नाम राखियो– स्पुतनिक भी। अर्थात् सन् १९५७ मा विश्वमै पहिलो पटक सोभियत संघले अन्तरीक्षमा पठाएको स्याटलाइट। जसले अन्तरीक्ष प्रतिस्पर्धालाई जन्म दिएको थियो।

लगत्तै खोप बनाउने प्रतिस्पर्धा शीतयुद्धमा परिणत भएको विश्लेषण समेत गरिए। रुसी खोपको प्रभावकारिता र विश्वसनीयतामाथि प्रश्न उठाइयो। थुप्रैले यो खोपले ज्यान समेत लिनसक्ने आशंका गरे।

किनभने रुसको खोपको तेस्रो चरणको परीक्षण भइसकेको छैन। विश्व स्वास्थ्य संगठनले पनि यसलाई मान्यता दिएको छैन। परीक्षणसम्बन्धी पर्याप्त तथ्यांक रुसले अन्य मुलुकलाई हस्तान्तरण गरेको छैन।

तर, रुसले यस्ता आलोचनालाई खारेज गर्दै आफ्नो खोप सुरक्षित रहेको दाबी गरेको छ।

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले खोप असुरक्षित भन्ने आरोप आधारहीन रहेको र प्रतिस्पर्धाका कारण त्यस्तो आरोप लगाइएको बताए।

खोपमा लगानी गरेको रुसको सरकारी कोषका कार्यकारी प्रमुख किरिल दिमित्रेवले पनि अमेरिकाले गरेको आलोचना पक्षपातपूर्ण रहेको बताए।

‘यो घोषणाले संसारलाई दुई भागमा विभाजित गरिदिएको छ। एकाथरी देशहरुले यसलाई खुसीको खबर मानेका छन्। र अमेरिकी मिडिया तथा केही अमेरिकीहरुले रुसी खोपविरुद्ध ठूलो सूचना युद्ध सुरु गरेका छन्,’ उनले भने।

‘हामी अमेरिकालाई विश्वस्त तुल्याउने प्रयास गरिरहेका छैनौँ। विश्वलाई हाम्रो भनाइ के हो भने यो प्रविधि हामीसँग छ,’ उनले भने, ‘र, तपाईंको मुलुकको नियामक निकायले मान्यता दिन्छ भने यो खोप नोभेम्बर÷डिसेम्बरमा तपाईंको मुलुकमा उपलब्ध हुनसक्छ। जसलाई हाम्रो खोपमा विश्वास छैन उनीहरुलाई हामी खोप दिँदैनौँ। उनीहरुलाई आफ्नै खोप विकास गर्न सफलता मिलोस् भन्ने कामना गर्छौँ।’

यद्यपि दिमित्रेवले आफूहरुले अन्य मुलुकलाई परीक्षणको विस्तृत आकडा दिइनसकेको बताए। यही महिना सो अध्ययन प्रकाशित हुने उनले बताए। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad