ad ad

राजनीति


प्रचण्ड फकाउन बालुवाटारले पठायो तीन नेता

प्रचण्ड फकाउन बालुवाटारले पठायो तीन नेता

नेपालखबर
असार २५, २०७७ बिहिबार १२:२९,

नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीचको विवादको गाँठो झन् कस्सिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाउन तीन नेतालाई पठाएका छन्।

बुधबार दुई अध्यक्षबीच भएको छलफलमा सहमति नजुटेपछि पार्टीभित्र थप समस्या चुलिएको आशंका गरिएका बेला ओलीको सन्देश लिएर उनीनिकट तीन नेता कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका हुन्।

स्रोतका अनुसार स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार दिउँसो खुमलटार पुगेका हुन्। उनीहरुले प्रचण्डलाई सहमति गरेर जान बिभिन्न प्रस्तावसहित आग्रह गरेका थिए।

बुधबार ओली–प्रचण्डबीचको एक्लाएक्लै वार्तामा प्रधानमन्त्री ओलीले पुरानै अडान दोहोर्‍याएपछि कुनै सहमति हुन सकेको थिएन।

नेताहरुका अनुसार पछिल्ला वार्तामा पनि ओलीले प्रचण्डलाई अध्यक्ष हुने भए महाधिवेशनसम्म कुर्नुपर्ने र प्रधानमन्त्री हुने भए संसदीय दलमा निर्वाचित भएर आउन चुनौति दिएपछि प्रचण्ड बालुवाटारबाट विना सहमति निस्किएका थिए।

असार १० गतेदेखि बसेको नेकपा स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी सञ्चालन दुवैतर्फ राम्रोसँग गर्न नसकेको भन्दै ओलीले दुबैपदबाट राजीनामा दिनुपर्ने माग उठेको छ। तर दुवै पदबाट नहट्ने अडानमा ओली टसका मस नभएपछि नेताहरुबीचको विवाद थप बल्झिएको हो।

दुबैपदबाट राजीनामा दिनुपर्ने मागमा ओली इतरका नेताहरुको पार्टीको सचिवालय, स्थायी कमिटी लगायत पार्टी कमिटीहरुमा बहुमत भएपनि ओलीले सो मागप्रति सकारात्मक छैनन्।
राजीनामाको विषयले पार्टी नेतृत्व तहमै तीव्र विवाद भएपछि स्थायी समिति बैठक पनि असार १८ गतेदेखि बस्न सकेको छैन।

सोमबार, मंगलबार र बुधबार ओली–प्रचण्डबीच पार्टीभित्र देखिएको गतिरोध अन्त्य गराउन एक्लाएक्लै वार्ता भएको थियो। तर, तीन दिनकै वार्तामा ओलीले पुरानै अडान दोहो¥याएपछि सहमति नभएको बेला प्रचण्ड निवासमा ओलीका विश्वासपात्र तीन नेता पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .