नेपालका मध्यभागमा बाढी पहिरोको उच्चजोखिम रहेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले निस्कर्ष निकालेको छ।
सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि आकस्मिक रुपमा बसेको बैठकले अझै केही दिन उच्चजोखिम रहेको निष्कर्ष निकालेको हो।
प्राधिकरणको बैठकपछि सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले जोखिमअनुसार तयारी बढाउन र सुरक्षा निकायलाई हाइअलर्ट (उच्च शतर्कता)मा रहन निर्देशन दिएका छन्।
यसअघि बसेको प्राधिकरणको बैठकले यो वर्ष ठूलै संकट आउने आकलन गरेको थियो। गृहमन्त्रालयले हिजो (बुधबार) केही दिन उच्चजोखिम रहेको सूचना जारी गरेको थियो। गएराति नै सिन्धुपाल्चोकमा ठूलो क्षति भएको हो।
सिन्धुपाल्चोकमा २ जनाको ज्यान गइसकेको छ, २० जना बाढी पहिरोमा हराइरहेका छन्। चार जना घाइते भएका छन्।
जेठमा वर्षाले धरातल भिजाइसकेको र आगामी दिनमा ठूलो वर्षा हुने देखिएकाले जोखिम बढि भएको बैठकको निष्कर्ष छ। आगमी तीन चार दिन मध्य तथा पूर्वी भागमा बाढी पहिरोको उच्चजोखिम आँकलन गरिएको छ।
गृहमन्त्री थापाले जनताको जिउ धनको सुरक्षा गर्न चुनौती खडा भएको बताए। उनले भने, ‘विपद आउँछ भन्ने हामीले मनसुनपूर्व बसेको बैठकबाटै गरेका थियौं, संकट भदौसम्म रहन्छ। मनसुनले उत्पन्न गरेका समस्या कसरी सामना गर्ने भन्ने अपडेट गर्दै जानुपर्ने हुन्छ।’
केन्द्रदेखि स्थानीय स्तरका संयन्त्रले हाइअलर्ट अवस्थामा रहनुपर्ने र सबै संयन्त्र सतर्क रहनु पर्ने गृहमन्त्री थापाले बताए।
घटना हुनासाथ परिचालन हुने व्यवस्था गर्न पनि गृहमन्त्री थापाले निर्देशन दिए।
देशले एकसाथ चार वटा विपदको सामना गर्नु परेको मन्त्री थापाको भनाई छ। कोरोना, आर्थिक संकट, यी समस्याले निम्त्याएको सामाजिक संकट र मनसुनले निम्त्याएको संकटको सामना गर्नु परेको उनको भनाई छ।

प्रतिक्रिया