प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित विभिन्न कार्यक्रममा सरिक भइ स्वदेश फिर्ता भएका छन्।
राष्ट्रसंघको औपचारिक निमन्त्रणामा प्रधानमसेनापति थापा ब्रिटिस आर्मड् फोर्सले आयोजना गरेको ‘फर्स्ट वमेन पिस एण्ड सेक्युरिटी (डब्ल्युपीएस) नेटवर्किङ मिटिङ’ तथा संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गरेको तेस्रो ‘चिफ अफ डिफेन्स कन्फ्रेन्स’ मा सहभागी भई मंगलबार स्वदेश फिर्ता भएका हुन्।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द र रक्षा मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो। उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
भ्रमणको दौरान प्रधानसेनापति श्री थापाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा कार्यरत विशिष्ट व्यक्तित्वहरु लगायत डिपार्टमेन्ट अफ डिफेन्स (डीओडी) मा युएस आर्मड् फोर्सका ‘ज्वाइन्ट चिफ अफ स्टाफ जनरल पाउल जे सेल्भा’ ‘डीओडी’ अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति थापाअसार २३ गते मित्रराष्ट्र संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका थिए।

प्रतिक्रिया