यही असार २६ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ। लगातारको वर्षापछिको पहिरो, बाढी र डुबानमा मंगलबार साढे १२ बजेसम्म ७८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार झापामा ३, मोरङमा २, सुनसरीमा २, पाँचथरमा १, भोजपुरमा ५, इलाममा १, ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। त्यस्तै, खोटाङमा ३, उदयपुरमा १, महोत्तरीमा ४, धनुषामा ४, सिराहामा ४, सर्लाहीमा १, रौतहटमा ९, पर्सामा २, बारामा २, रामेछापमा १, सिन्धुलीमा ४, काभ्रेपलाञ्चोकमा ३ जनाको मृत्यु भएको छ। अविरल वर्षातका कारण काठमाडौंमा ३, ललितपुरमा ६, मकवानपुरमा ५, धादिङ्गमा २, पाल्पामा १, दाङ्गमा २, कपिलवस्तुमा १ र डोल्पामा २ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्।
मृतकहरूकाे नाम र ठेगाना
गृह मन्त्रालयका अनुसार बाढी र वर्षाका लागि पूर्वसूचना प्रणाली सक्रिय गराइएको, सामाजिक सञ्जाल र मिडियाबाट सुसूचित गरिएको बताइएको छ। त्यस्तै बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४१ हजार २ सय ४ जनशक्ति परिचालन भएको गृह मन्त्रालयले जनाएको छ। हालसम्म ३ हजार ३ सय ६६ जनाको उद्धार गरिएको छ।
गृह मन्त्रालयले अवरुद्ध सडकहरु खुलाउने प्रयास भइ रहेको तथा केही मार्गहरु खुलिसकेको जानकारी दिएको छ। त्यस्तै, अवरुद्ध विद्युत र सञ्चार सुचारु गर्न तीव्रता दिइएको र नेपाल टेलिकमको सेवा वैकल्पिक तरिकाबाट प्रवाह भएको जनाएको छ। भारतीय पक्षसँग समन्वय गरी सर्लाहीमा पानी निकासा गराइएको, रौतहटमा पनि पानी निकासा भएको, कोशी बाँधको लागि पनि निरन्तर समन्वय भइरहेको र लक्ष्मणपुर बाँधको स्थिति सामान्य रहेको जनाएको छ।
त्यस्तै, आपत्कालीन उद्धारको लागि हेलिकप्टरहरु तत्पर अवस्थामा रहेका छन् भने प्रदेश २ मा २ वटा हेलिकप्टरहरुले राहतको कार्य गरिरहेका छन्। प्रदेश १ को इटहरी र कर्णाली प्रदेशको सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखिएको गृहले जनाएको छ।
त्यस्तै राहत वितरणका कार्यहरु सुरु भएको, त्रिपाल, खाद्यान्न, औषधी जस्ता अत्यावस्यक सामग्री स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, निजी क्षेत्र, रेडक्रस, मानवीय सहायतका क्षेत्रमा काम गर्ने संघ संस्थाले सहयोग गरिरहेको गृहले जनाएको छ। त्यस्तै, प्रदेश गोदामघर हेटौडाबाट सिरहा, सर्लाही, रौतहट र महोत्तरी जिल्लाका लागि ३÷३ हजार थानका दरले १२ हजार पिस त्रिपाल र म्याट ४ रोल राहत सामग्री पठाइएको जानकारी दिएको छ।
गत ३० गते ललितपुर जिल्लाको गोटीखेल र गिम्दीकालागि हेलिकप्टरबाट ४० थान त्रिपाल पठाइ थप ११ सय थान त्रिपाल र जेनेरेटर १ थान तराई पठाएको छ। प्रदेश नं २ को सरकारले गत २८ को बैठकबाट उद्धार तथा राहतमा खर्च गर्ने गरी ८ वटै जिल्ला विपद् व्यवस्थापन समितिका लागि १० लाखका दरले उद्धार तथा राहत खर्च उपलब्ध गराउने एवं मृतक नेपाली नागरिकका परिवारलाई प्रति मृतक ३ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको पनि जनाएको छ।

प्रतिक्रिया