अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकबारे चौतर्फी विरोध भइरहेका बेला सो विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभाको सोमबारको कार्यसूचीमा राखिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत बिभिन्न पक्षले सो विधेयकको चर्को बिरोध गरेपछि गतसाता सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा समेत सो विषय गम्भीररुपमा उठाइएको थियो। त्यसपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाललाई सो विधेयक स्थगन गरिने जानकारी गराएका थिए।
नीजि क्षेत्रलाई समेत छानविन गर्ने अधिकार समेत अख्तियारलाई दिन लागेकोमा त्यसको चर्काे विरोध भएको छ।
तर, त्यससम्बन्धी कुनै जानकारी संसदमा नआएका कारण सो विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभाले अघि बढाएको संसदका एक उच्चअधिकारीले नेपालखबरलाई बताए।
‘अख्तियार सम्बन्धी विधेयक रोक्न दलबाट राष्ट्रियसभामा केही औपचारिक जानकारी आएको छैन,’ संसद सचिवालयका एक वरिष्ठ अधिकारीले भने, ‘यदि रोक्ने नै हो भने त सम्बन्धित पार्टीको संसदीय दलमा आउनुपर्थ्याे अनि दलबाट राष्ट्रियसभामा आउँथ्यो, त्यस्तो केही नआएपछि कार्यसूचि बनेको हो।’
ती अधिकारीका अनुसार आजै बस्ने राष्ट्रियसभाको बैठकले सो विधेयक पारित गर्ने योजना छ।


प्रतिक्रिया