राजनीति


‘दुई अध्यक्षका विपरीत धारणा सुन्दा लाग्यो पार्टी गम्भीर समस्यामा छ’

‘दुई अध्यक्षका विपरीत धारणा सुन्दा लाग्यो पार्टी गम्भीर समस्यामा छ’

नेपालखबर
असार १०, २०७७ बुधबार १३:५१,

नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा व्यक्त गरेका विपरीत धारणाले सत्तारुढ दल नेकपा गम्भीर संकटमा रहेको संकेत गरेको पार्टीकै नेताहरुले बताएका छन्।

बुधबारबाट शुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्दागर्दै पनि आलोचना भएको र पार्टीभित्रकै प्रतिपक्षीहरुले समस्यामा पारेको बताएका छन्।

उनले नेपालकाे नयाँ नक्सा जारी गर्नेदेखि कोरोना नियन्त्रणमा समेत सरकारको भूमिका प्रभावकारी रहेको दाबी गरेका थिए।

उनले त्यसाे हुँदाहुँदै पनि नेकपा भित्रबाटै असहयाेग भएकाे गुनासाे गरेका थिए।

बैठकमा अध्यक्ष ओलीपछि बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सक्ने जति पनि काम नगरेको बताएका थिए।

उनले दुई अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्ने भनी गरेको सहमति छाडेर गल्ती गरेको महशुस् हुन थालेको समेत बताएका थिए।

स्थायी कमिटी सदस्य केशव बडालले बुधबार दुवै अध्यक्षहरुको धारणा निकै फरक आएको र त्यसले पार्टीभित्र गम्भीर संकट रहेको देखाउने बताए।

‘बैठकमा अध्यक्षहरुको फरक प्रकारको धारणा आयो। दुवै अध्यक्षको कुरा सुन्दा पार्टीभित्र गम्भीर समस्या छ भन्ने लाग्यो,’ बडालले भने, ‘अहिलेसम्म दुवै अध्यक्षबीच साझा धारणा बनेको रहेनछ भन्ने देखियो। सरकार र पार्टी सञ्चालनको विषयमा उहाँहरुको धारणा फरक रहेछ भन्ने देखिन्छ। बैठक जारी रहेको समयमा यस विषयमा यतिमात्र टिप्पणी गरौं।’

स्थायी कमिटीका अर्का सदस्य सत्यनारायण मण्डलले पनि अध्यक्षहरुले व्यक्त गरेको धारणाबारे अहिले नै समीक्षा गर्ने बेला नभएको बताए।

तत्कालिन एमाले र माओवादी पार्टी एकीकरण गर्दा दुई जना अध्यक्ष रहने र दुवैले सरकारको नेतृत्व पनि आलोपालो गर्ने गोप्य सहमति भएको थियो।

तर गत मंसिरमा ओलीले पाँच वर्षे कार्यकाल नै सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो।

तर सोअनुसार प्रधानमन्त्री ओलीबाट सहमति कार्यान्वयन नभएको प्रचण्डले गुनासो गर्दै आएका छन्।

एक नेताका अनुसार बैठकमा प्रचण्डले अहिलेकै अवस्थामा रहे पार्टी गम्भीर संकटमा पुग्ने चिन्ता व्यक्त गरेका थिए।

२०७४ मंसिरमा भएको आम निर्वाचनका समयमा गठबन्धन गरेका तत्कालीन नेकपा एमाले र माओवादीले २०७५ जेठमा पार्टी एकीकरण गरेका हुन्।

सो निर्वाचनमा दुवै दलले करिब दुई–तिहाइ मत ल्याएका थिए भने सातमध्ये ६ प्रदेशमा सरकार गठन गर्न सफल भएका छन्।

पार्टी एकीकरणपछि अध्यक्ष ओलीले नेकपा पार्टी एउटा ड्राइभरले चलाउने टेम्पु नभएर दुई पाइलटले हाँक्ने हवाईजहाज भएको हुँदा दुई नेताको नेतृत्वमा पार्टी अत्यन्त स्वभाविकरुपमा अघि बढ्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad