सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलका नेतृत्वमा रहेको कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय पारेको छ।
त्यसको साटो उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा रहेको कोभिड १९ संकट व्यवस्थापन समूह (सीसीएमसी)लाई सक्रिय बनाउने निर्णय गरेको हो।
‘समन्वय समितिका सबै सीसीएमसीको निर्देशक समितिमा हुने भएकाले दोहोरोपन किन गराउने भनेर समन्वय समिति निष्क्रिय बनाउने निर्णय भएको हो। अब समन्वय समितिमा बैठक बस्दैन,’ एक मन्त्रीले भने, ‘समन्वय समिति विघटन नभई निष्क्रिय मात्रै पारिएको हो।’
ती मन्त्रिका अनुसार पहिले समन्वय समितिले गर्ने काम अब सीसीएमसीको निर्देशक समितिले गर्ने छ। निर्देशक समितिमा १० जना मन्त्री छन्।
गत साता भएको मन्त्रिपरिषदको बैठकले सीसीएमसीमा चार मन्त्रीलाई थप गरेको थियो। जसमा कृषिमन्त्री घनश्याम भुसाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन र पर्यटनमन्त्री योगेश भट्टराई छन्।
यसअघि समन्वय समितिले गरेको निर्णयलाई सीसीएमसीबाट कार्यान्वयन गर्ने गरिएको थियो। निर्देशक समितिको मातहतमा मुख्य सचिवको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु र मन्त्रालयका सचिवहरु रहेको सीसीएमसीको सचिवालय छ।
सचिवालय अन्तर्गत चार वटा विभाग छन्। मेडिकलमा स्वास्थ्य, सुरक्षामा गृह, आपूर्तिमा आपूर्ति र सूचनामा सञ्चार मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति छ।
सीसीएमसीको सचिवालय छाउनीस्थित नेपाली सेनाका सैनिक कार्यालयमा छ।
समन्वय समितिलाई छायामा पारेर सीसीएमसीलाई बढी महत्व दिएको भन्दै नेकपाका नेताहरुले सरकारको आलोचना गरेका थिए। यो विषयमा मन्त्रिपरिषदकै बैठकमा प्रश्न उठेपछि सीसीएमसीमा मन्त्रीहरु थप गरिएको थियो।
त्यसपछि छाउनीमा हुने गरेको सीसीएमसीको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गरिएको थियो।

प्रतिक्रिया