राजनीति


राहतको अनुगमनका लागि सर्वदलीय संयन्त्र बनाउन कांग्रेसको प्रस्ताव, यस्ता छन् १४ माग

राहतको अनुगमनका लागि सर्वदलीय संयन्त्र बनाउन कांग्रेसको प्रस्ताव, यस्ता छन् १४ माग

नेपालखबर
असार १, २०७७ सोमबार ११:९,

नेपाली कांग्रेसले सरकारसँग आरडीटी बिधिबाट गरिएको कोरोना परीक्षण बन्द गरी पीसीआर प्रणालीबाट गरिने परीक्षणलाई नै व्यापक रुपमा विस्तार गर्न माग गरेको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले असुरक्षित क्वारेन्टाइनहरु बन्द गरी सुरक्षित र मापदण्ड अनुकूलको क्वारेन्टाइनहरुको व्यवस्था गर्न पनि आग्रह गरेको छ।

त्यसैगरी कांग्रेसले स्थानीय तहमा गरिने कोभिड–१९ सम्बन्धी स्वास्थ्य क्षेत्र र आर्थिक–सामाजिक सहयोग र राहतको अनुगमन गर्न नागरिक समाजको समेत प्रतिनिधित्व हुने गरी सर्वदलीय संयन्त्रको व्यवस्था गर्न माग गरेको छ।

यी हुन् कांग्रेसका १४ माग: 

१. आरडीटी परीक्षण बन्द गरी आवश्यक स्वास्थ्य सामग्री र दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्दै पीसीआर परीक्षणलाई व्यापक रुपमा विस्तार गरियोस्।

२. पीसीआर परीक्षण नगरी क्वारेन्टाइनबाट घर नपठाइयोस्।

३. असुरक्षित क्वारेन्टाइनहरु बन्द गरी सुरक्षित र मापदण्ड अनुकूलको क्वारेन्टाइनको व्यवस्था गरियोस्।

४. खाद्यान्न र न्यूनतम आम्दानीको अभावबाट गुज्रिरहेका आम श्रमिकहरु, दैनिक ज्यालादारीमा निर्भर श्रमिकहरु, शहर केन्द्रित स्थानहरुमा डेरा गरी बसेका विद्यार्थीहरु, एकल महिला, अपाङ्गता र अशक्त नागरिकहरु, बालबालिका तथा ज्येष्ठ नागरिकहरु तथा आम नागरिकहरुको न्यूनतम आवश्यकता पूर्ति गर्न जीवन निर्वाह गर्ने आर्थिक प्याकेजको व्यवस्था गरियोस्।

५. सामाजिक दूरी कायम गर्ने व्यवस्था सहित स्थानीय निकायहरु मार्फत न्यूनतम आवश्यकता र खाद्यान्नको लागि कामको व्यवस्था गरियोस्।

६. विदेशबाट फर्कन चाहने नेपालीहरुलाई विना भेदभाव न्यूनतम भाडा दरमा फर्कने व्यवस्था गरियोस्। सामाजिक सुरक्षा कोषको उपयोग गरी विदेशबाट फर्कन चाहने श्रमिकहरुलाई फर्कने व्यवस्था गरियोस्।

७. कृषि क्षेत्रमा विउविजन र रासायनिक मलको तत्काल व्यवस्था गरियोस्। विउविजन र रासायनिक मलमा अनुदानको समुचित व्यवस्था गरियोस्।

८. स्थानीय निकायहरुलाई क्वारेन्टिनकाे राम्रो व्यवस्था सुनिश्चित गर्न र जनतालाई राहत र कामको व्यवस्था गर्न समुचित आर्थिक सहयोगको व्यवस्था गरियोस्।

९. स्थानीय तहमा गरिने कोभिड–१९ सम्बन्धी स्वास्थ्य क्षेत्र र आर्थिक–सामाजिक सहयोग र राहतको अनुगमन गर्न नागरिक समाजको समेत प्रतिनिधित्व हुने गरी सर्वदलीय संयन्त्रको व्यवस्था गरियोस्।

१०. कोभिड–१९ संक्रमणको व्यवस्थापनको सन्दर्भमा सरकारीले १० अर्ब खर्च देखाएको र सरकारी निकायहरुबाट अलग–अलग तथ्याङ्क आएको छ। यसमा व्यापक भ्रष्टाचार भएको सार्वजनिक भैरहेको अवस्थामा यसको स्वतन्त्र र निष्पक्ष छानविन होस्।

११. जिल्ला–जिल्लामा छिनछिनमा गरिने सरुवाले कोभिड–१९ को व्यवस्थापनमा झन संकट थपेको हुनाले सत्तासीन दलको सीमित स्वार्थ पूर्तिको लागि गरिने यस्तो खाले निर्णयहरु तत्काल बन्द गरियोस्।

१२. लकडाउनको परिस्थितिमा सत्ताको नजिक रहेकालाई जथाभावी पास बाँड्ने र अरु आम नागरिकलाई आपतकालीन परिस्थितिमा पनि आवतजावत पास दिन आनाकानी गर्ने प्रवृत्ति बन्द गरियोस्।

१३. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, स्थानीय निकायमा अग्रपंक्तिमा रहेकालाई आवश्यक स्वास्थ्य सुरक्षा किटको समुचित प्रबन्ध गरियोस्।

१४. बढ्दो संक्रमित क्षेत्रमा रहेका अस्पतालहरुमा आवश्यक कोभिड–१९ सम्बन्धी स्वास्थ्य उपकरणहरु र दक्ष स्वास्थ्यकर्मीहरुको तत्काल व्यवस्था गरियोस्। साथै, अन्य स्वास्थ्य उपचार र सेवाको जरुरत भएका नागरिकहरुको स्वास्थ्य आवश्यकताको व्यवस्था सुनिश्चित गरियोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad