कोरोना संक्रमणको जोखिम बढिरहेको छ। संक्रमित थपिने क्रम रोकिएको छैन। ८१ दिनदेखि लकडाउन जारी छ।
यहीबेला काठमाडौं उपत्यकासहित मुख्य शहरहरुमा आश्चर्यजनकरुपमा हजारौंको संख्यामा जुलुश निस्किएको छ त्यो पनि शहरीया युवाहरुको।
जनस्वास्थ्य तथा संक्रामक राेग सम्बन्धी विज्ञहरुले काेराेनाबाट जाेगिन भिडभाड नगर्न र व्यक्ति-व्यक्तिबीच भाैतिक दूरी कायम गर्न सुझाएका छन्। तर डाक्टर र विज्ञहरुकाे सुझावले युवा आक्रोशलाई रोक्न सकेकाे छैन।
जेठ २७ गते काठमाडौंमा केही राजनीतिक दल, केही युवा अभियानकर्मीहरुले सरकारलाई सबै नागरिकको कोरोना परीक्षण गर्न माग गर्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको थियो।
सो प्रदर्शनमा सरकारविरुद्ध चर्का नारावाजी पनि गरिएकाे थियाे। प्रहरीले व्यापक मात्रामा धरपकड गर्यो। पानीको फोहरा हानेर प्रदर्शनलाई तितरवितर पार्यो।
तर, प्रदर्शन रोकिएन।
जेठ २८ देखि देशका प्रमुख शहरहरुमा प्रदर्शन हुन थाल्यो।
प्रदर्शनमा रहेकाहरुले विरोध जारी रहने बताएका छन्।

युवाहरुको स्वस्फूर्तः सहभागिता अहिलेको प्रदर्शनको विशेषता हो। सहभागीहरुका अनुसार प्रदर्शनमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका शहरवासी छन्।
२०४६ र २०६२–०६३ को आन्दोलनहरुमा युवा संख्या हुने गरेपनि अधिकांश गाउँबाट आएकाहरु हुने गर्थे। पछिल्ला प्रदर्शनहरुमा भने शहरीया युवाहरु सक्रिय हुन थालेका छन्।
यसको सुरुवात ९ दिनअघि सामाजिक सञ्जालबाट भएको हो। ६ जना युवाले बनाएको सो समूहमा अहिले ८० हजार बढी युवा जोडिइसकेका छन्।
देशव्यापी रुपमा भइरहेको सरकारविरोधी प्रदर्शनमा मुख्यतः त्यहि समुहबाट संयोजन भइरहेको छ। उनीहरुको पहिलो माग स्वास्थ्य सेवा र कोरोना संक्रमण नियन्त्रण गर्न सरकारको फितलो कदम सच्याउनुपर्ने छ।
त्यही फेसबुक समुहका सहभागी अभियानकर्मी जगन्नाथ लामिछानेले पछिल्ला प्रदर्शनमा शहरीया युवाहरु धेरै देखिएको बताए।
‘सोसल मिडिया प्रयोगकर्ता शहरीया युवाहरुले अहिलेको प्रदर्शन गरेका छन्, पहिला आन्दोलन गाउँका मानिसले लड्थे अहिले शहरीयाले सुरु गरे,’ नेपालखबरसँग कुरा गर्दै लामिछानेले भने, ‘नयाँ पुस्ताको चेतनास्तर माथि छ, विश्व बुझेका र देखेका शहरिया युवाहरु सरकारले जनताको आंकाक्षा पुरा नगरेपछि आक्रोशित भएर सडकमा उत्रिएका छन्।’
लकडाउनका कारण गाउँ गएका थुप्रै युवाहरु शहर फर्किएका छैनन्। विद्यालय, क्याम्पस, होटल, रेष्टुरेन्ट र उद्योग कलकारखाना सबै बन्द छ।
यस्तो अबस्थामा पनि दैनिक हजारौं जनाले सडकमा प्रदर्शन जारी राखेका छन्।
यसमा सरकारप्रतिको असन्तुष्टि मात्रै नभएर सोँचाई र आकांक्षाको पुस्तान्तर र नयाँ पुस्ताको ‘स्प्रिट’ बुझ्न सक्ने नेतृत्वको अभावका कारण सरकारबिरोधी अभियान सुरु भएको लामिछाने बताउँछन्।
‘अहिलेको सरकार चलाइरहेको पुस्ता, राजनीतिक दलको नेतृत्व हाँकिरहेको पुस्ता र सडकमा पुगेको पुस्ताबीच ठूलो अन्तर छ,’ लामिछानेले भने, ‘सरकारले आँफैले घोषणा गरेको कुरा पनि पूरा नगरेपछि अहिले शहरी युवामा आक्रोश बढेको छ, त्यहि सडकमा पोखिएको हो, जुन सहजै रोकिने संकेत देखिदैन।’
फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालबाट एकैपटक आह्वान गरेपछि सडकमा उत्रने गरेका छन्।
पोखराकी स्मृति बरालले बालुवाटारमा गरेको शान्तिपूर्ण प्रदर्शनबाट प्रभावित भएर पोखरामा पनि प्रदर्शन थालेको बताईन।
पोखरामा बिहीबार बृहत प्रदर्शन भएको थियो जसमा युवाहरु कै संख्या बढी थियो।
‘इन्स्टामा राखेको एक सूचनाबाट हजारौं युवाहरुले प्रदर्शनमा जोडिन खबर पठाउनुभयो,’ बरालले भनिन, ‘कुनै योजना बनाएर र संगठितरुपमा प्रदर्शन गरेको होइन, हाम्रो एउटै नारा ‘स्वास्थ्य हेरचाहमा ढिलाई’ गर्नुहुँदैन भन्ने छ।
बरालले पोखरामा हुने प्रदर्शनको संयोजन पनि गरेकी छिन्। उनमा प्रदर्शन योजनाभन्दा बाहिर जाला कि भन्ने चिन्ता पनि छ।
४ वर्षदेखि सामाजिक अभियानमा संलग्न बराल युवाहरुको स्वस्फूर्तः प्रदर्शन भएको र कुनै राजनीतिक माग अघि सार्ने योजना नरहेको दाबी गर्छिन।
‘इन्स्टामा सूचना राखेपछि जोडिएका युवाहरु कोही राजनीतिक दलसम्बद्ध पनि हुनुहोला तर, हामीले राजनीतिक कुनै कुरा उठाउन नपाउने भनेका छौं’ बरालले भनिन।
तर, पोखरामा बिहीबार भएको प्रदर्शनमा भने उनको योजना विपरित युवाहरुले सरकारविरुद्ध चर्का नारावाजी गरे।
त्यसपछि स्थितिलाई साम्य पार्न खोज्दा उनलाई हम्मे हम्मे परेको बताईन।
‘यतिसम्मकी मसँग सम्पर्क गरेर प्रदर्शनमा जोडिन आएकाहरुले मैमाथि नानाथरी भन्न थाले, विहान ११ देखि १२ बजेसम्मको प्रदर्शन लम्बिन थालेपछि मैले यो विशुद्ध गैरराजनीतिक प्रदर्शन भएको बताउँदै शान्तिपूर्ण र भद्र प्रदर्शनलाई नविगार्न अनुरोध गर्नुपर्यो,’ उनले प्रष्ट्याइन्।

शान्तिपूर्ण प्रदर्शन भाड्ने केही राजनीतिक दलसम्बद्ध युवा नेताहरु सहभागी रहेको उनको ठम्याइ छ।
यो प्रदर्शन अझै केही दिन मुलुकका प्रायः सबै शहरमा हुने बरालको ठम्याई छ।
उनी भन्छिन्, ‘यो अभियानमा हाम्रो टीम बनेको छ, आयोजक छौं, त्यसको कन्ट्रोल काठमाडौंबाट हुन्छ, देशका मुख्य शहरमा केही दिन जारी रहन्छ।’
युवाहरुको प्रदर्शन अझै बढ्ने संकेत आजको प्रदर्शनले पनि गरेको छ।
प्रदर्शनमा सहभागी युवाहरुले स्वास्थ्य सेवासँग सम्बन्धित विषय अघि सारेका छन्, सोही अनुसारको प्लाकार्ड पनि छन्।
सरकारले क्वारेन्टिन व्यवस्थित बनाउन नसकेको, भारतबाट फर्केकाहरुको पुरै कोरोना परीक्षण नभएको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको लगायतका विषय प्रदर्शनकारीले उठाएका छन्। यसो हेर्दा केही राजनीतिक रङ देखिने विषय पनि उठेका छन्।
यसलाई बैकल्पिक नेता जन्माउने घट्नाक्रम बन्नसक्ने संभावना रहेको जगन्नाथ लामिछानेको तर्क छ।
‘अहिलेको नेतृत्वले मुलुक हाँक्न सक्ने देखिएन, बैकल्पिक नेतृत्व के हो भन्ने खोजी पनि यो प्रदर्शनले गर्न सक्नेछ, त्यसकै लागि कुनै राजनीतिक पार्टीसँग संलग्न युवा समूहको नेतृत्व पनि हुनसक्छ,’ उनी भन्छन्।
प्रधानमन्त्री निवास बालुवाटार अगाडि २७ गते गरिएको प्रदर्शनमा सबै राजनीतिक दलका युवा नेताहरु रहेको उनले जानकारी दिए।
तर, देशभर जारी प्रदर्शनमा सामाजिक सञ्जालमा सक्रिय युवाहरु सहभागी भएको स्मृति बरालको भनाई छ।
यस्ता गतिविधि र सक्रियताले नयाँ नेतृत्व जन्माउने संभावना रहेको केही सहभागीहरुको भनाई छ।
पछिल्ला दुई दिनदेखिजारी प्रदर्शनमा व्यवसायी, युवा, जागिरे लगायत सबैखाले सहभागिताले अहिलेको सरकारलाई ठूलो दबाब दिएको उनीहरुको तर्क छ।
लामिछाने र बरालको बुझाई भने फरक फरक देखिन्छ।
लामिछाने अहिलेको सत्ताको नेतृत्वकर्ताले युवा पुस्ताको आकांक्षा नबुझेको र यस्तै प्रदर्शनले नयाँ नेतृत्वको विकास गराउने बताउँछन भने पोखराकी बराल भने प्रदर्शन सरकारलाई सही दिशामा हिडाउन मात्र केन्द्रित रहेको बताउँछिन्।
निश्चित संगठन नहुँदा र एउटै व्यक्तिको नियन्त्रणमा नहुँदा प्रदर्शन उग्र हुनसक्ने खतरा पनि रहेको छ।
जारी प्रदर्शनलाई सरकार निकटका व्यक्तिहरुले प्रायोजित भिड भनी टिप्पणी गर्ने गरेका छन् भने विपक्षी दलका नेताहरुले भने सरकारका गलत रवैयाहरुप्रति आक्रोशित नागरिकहरुको प्रदर्शनका रुपमा व्याख्या गर्न थालेका छन्।
‘क्रोधित युबाहरुको स्वतःस्फुर्त विभिन्न ठाउँमा आजको यो आन्दोलन सरकारको निकम्मापन र चरम भ्रष्टाचार प्रतिको विद्रोह हो। फेसबुक र सामाजिक सञ्जाल संचालित इरानियन ग्रीनआन्दोलन२००९–१०, पर्पल आन्दोलन २०१४ इटाली, रोज रिभोलुसन जर्जिया २००३ लगायतलाई फर्केर हेर। समय छदै सोच नत्र परिणाम विस्फोटक हुनसक्छ,’ नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसीले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया