नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राज्यका कुनै पनि निर्णयहरू प्रतिशोधप्रेरित हुन नहुने बताएका छन्।
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि ज्ञवालीले फेसबुकमार्फत् टिप्पणी गरेका हुन्।
‘पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, अभियोजन पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने र अत्यावश्यक स्थितिमा मात्रै नियन्त्रणमा लिने विधि नै अनुसन्धान र न्याय निरूपणको स्थापित विधि हुनु पर्ने हो,’ उनले लेखेका छन्, ‘तर पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको छ। राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोधप्रेरित हुनुहुँदैन।’
साथै उनले राज्यका संवैधानिक र कानुनी अख्तियारप्राप्त निकायले चाहेको अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुन सम्मत् सामना गर्ने र न्यायालयको फैसलालाई सहज ढङ्गले स्वीकार गर्ने नेकपा एमालेको स्थापित मान्यता पनि भएको बताएका छन्।
पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेका हुन्। उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको गरिएको हो।
Shares

प्रतिक्रिया