राजनीति


बजेटप्रति सत्तारुढ दलकै सांसद रुष्ट, भन्छन्ः बरु बाटो खर्च दिएर घर पठाइदेऊ

बजेटप्रति सत्तारुढ दलकै सांसद रुष्ट, भन्छन्ः बरु बाटो खर्च दिएर घर पठाइदेऊ

नेपालखबर
जेठ २५, २०७७ आइतबार ११:३१,

सत्तारुढ दलकै सांसदहरुले सरकारको बजेटको चर्को विरोध गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्रालयगत विनियोजित बजेट माथिको छलफलमा सहभागी हुँदै सत्तारुढ दलका सांसदहरु भीम रावल, पम्फा भुसाल, नविना लामा, गजेन्द्र बहादुर महत लगायत अधिकांश सांसदले सरकारको आलोचना गरे।

सांसद गजेन्द्र बहादुर महतले सरकारको बजेटलाई गुटहरुको बजेटको संज्ञा दिए। उनले बजेट निर्माण गर्ने क्रममा जनताका प्रतिनिधिसँग औपचारीक कुरा गर्ने तर शिर्षगत विनियोजनमा कर्मचारीहरुसँग मिलेमतो गर्ने गरिएको गुनासो गरे।

उनले भने, ‘अहिलेको बजेट कर्मचारीले चलाएको बजेट छ। अहिलेको दलालले चलाएको बजेट छ। अहिलेको बजेट भित्रियाबाट चलाएको बजेट छ। अहिलेको बजेट गुटबाट चलेको बजेट छ।’

सांसदहरुलाई सरकार गठनको बेलामा मात्रै प्रयोग गर्ने गरिएको भन्दै उनले सांसदहरुलाई बाटो खर्च दिएर घर फर्काउन आग्रह गरे।

उनले भने, ‘यत्ति बजेट ल्याउन मन्त्री नै चाहिन्छ? सचिवले ल्याउन सक्थे यत्ति बजेट, म यतातिर पनि अनुसन्धानमा लागिरहेको छु। यो बजेट ल्याउन हामी माननीयहरु कहाँ जानुपर्छ। गुटको भेलामा जानुपर्छ कि? कहीँ भेटी चढाउन पर्छ कि? कर्मचारीहरुको सेवा गर्नुपर्छ कि? के गर्नुपर्छ? यो मन्त्रीले चलाएको बजेट नै होइन। कर्मचारीको सेटिङमा मात्रै आएको देखिरहेको छु। माननीयको बजेट आएकै छैन। माननीयको बजेट एउटा कुनामा छ। सबै कर्मचारीले सेटिङ गरेको बजेट मात्रै छ। अब माननीयहरु चाहिँदैन। माननीयहरुलाई सरकार गठन गरिसकेपछि बाटो खर्च दिएर ल जाउ घर। यहाँ सचिवहरु छँदैछन्। सिडिओहरु छँदैछन्। जे भन्यो हस् हस् हस् भनिहाल्छन्। हामी माननीय त हस् भन्दैनौं। हाम्रै सरकार भए पनि भन्दैनौं। अर्काको सरकार भए त झन् किन भन्थ्यौ र हामीले? हस् हस् भन्ने मान्छेलाई यहाँ राख्नुपर्यो हामीहरुलाई विदाई गर्नुपर्यो। किनभने हाम्रा कुरै सुनिँदैन। सरकार बन्नेबेला सम्म हामी भाँडो भयौ अब ठाँडो भइसक्याै‌ं।’

उनले सरकारको बजेटबाट कोही पनि सन्तुष्ट नरहेको टिप्पणी गरे। उनले सरकारको आलोचना बढ्दै गएकाले बजेटप्रति असन्तुष्ट भएर सरकारको आलोचना गर्न भन्दा किन आलोचना हुन्छ भन्ने अनुसन्धानमा लागेको भन्दै व्यंग्य गरे।

उनले भने, ‘बजेटबाट मान्छेहरु सन्तुष्ट छैनन्। हामी पनि सन्तुष्ठट छैनौं। सरकारको खाली विरोध गरिरहनु भन्दा किन विरोध भईरहेको छ भनेर अनुसन्धान तिर लागिरहेको छु। माननीयहरु धेरै भएर विरोध गरेको हो कि? माननीयहरु कम गर्नुपर्ने हो कि? विरोध धेरै हुन थाल्यो। त्यसैले म अनुसन्धानतिर लागिरहेको छु। जोश जाँगर भएका धेरै कुरा गर्ने मन्त्रीहरु आएका केही हाम्रा कुरा सुन्लान् भनेको त। झन् यस्तो वेहाल भईरहेको छ हाम्रो। बजेट किताव हेर्दा कहालीलाग्दो छ। आफैँलाई टिठ लाग्दो भईरहेको छ। म ५ वर्षसम्म के गरेर जाने हो?’

विद्युतीय सवारी साधनमा कर बढाउनु, निजी स्कुलले सार्वजनिक स्कुलको दायित्व लिने, चकलेटको कर लगायत विषयमा मिलेमतोे भएको दाबी उनले गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad