मुगुका गणेश नेपालीको मृत्यु घटनालाई लिएर संसद्मा पनि आवाज उठेको छ। यस घटनालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहको मौनतमाथि सांसदले प्रश्न गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गरिन्। एक युवाको ज्यान जाँदा पनि प्रधानमन्त्री शाह कसरी चुप बसेका छन् भनेर प्रश्न गरिन्।
‘प्रधानमन्त्रीज्यू, हिजोको घटनामा तपाईंको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं तर आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिन किन टाढा हुनुहुन्छ?’ थापाले प्रश्न गरिन्।
प्रमुख सचेतक थापाले सरकारको आतंकका कारण गणेशले आफनो शरीरमा आगो लगाउँदा पनि उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था नगरेर सरकारले अपराधिको जस्तो व्यवहार गरेको आरोप लगाइन्। एउटा नागरिकले आफनो शरीरमा आफैँले आगो लगाउनुपर्ने हृदयविदारक घटना घट्दा पनि सरकार गम्भिर नभएको थापाको भनाइ थियो।
‘राज्य आतंकका कारण एक युवाले आफै आगो सल्काउँदा समेत राज्य मुकदर्शक बन्यो। आगो शरीरमा दन्किरहेको छ। तर राज्यले एम्बुलेन्स पठाएन। अरु प्रहरी प्रशासन लगाएर अपराधीझैँ घिसारेर लग्यो,’ उनले प्रश्न गरिन्, ‘म सरकारलाई सोध्न चाहन्छु- यो उद्धार हो कि गिरफतार सरकार? के ऊ देशद्रोही हो? उसले कसको विरुद्ध के अपराध गरेको थियो?’
उनले राज्य किन निरिह बनेको भन्दै प्रश्न गरिन्। ‘राज्य के यति निरिह र असफल भईसकेको हो कि आफनो पीडा सुनाउन नागरिकहरुले आफनै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउँछ। होइन भने यस्ता हृदयविदारक घटनाहरू किन बारम्बार दोहोरिरहेका छन?,’ उनले भनिन्।
सरकारले नागरिकको सुरक्षा गर्न नसकेको उनले औंल्याइन्। प्रधानमन्त्री शाहले कालो चस्मा लगाएर जनताका समस्या देख्न नसकेको उनको टिप्पणी थियो। ‘अब कालो चश्मा खोल्ने बेला आएको छ,’ थापाले भनिन्।
Shares

प्रतिक्रिया