पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकसँग सहकार्य गर्नुको सट्टा प्रतिद्वन्द्विता बढाइरहेको औँल्याएका छन्।
काठमाडौँको त्रिपुरेश्वरमा नगर प्रहरीसँगको विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुका गणेश नेपालीको शुक्रबार बिहान मृत्यु भएको छ। यही घटनालाई लिएर पूर्वगृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत सरकारको कमजोरी औँल्याएका हुन्।
‘कानुनी राज्य कसरी सञ्चालन हुन्छ? सर्वप्रथमः सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नु पर्छ, अनि नागरिकसंग सहकार्य गर्नुपर्दछ,’ अर्यालले भनेका छन्, ‘आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ।’
राज्यको व्यवहारले फेरि देश द्वन्द्वमा फस्न सक्ने उनले चिन्ता जनाएका छन्। ‘फेरि पनि मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस्। कानुनी राज्यमा नागरिकले मात्र होइन, सरकारले पनि विधिविधानको सही रूपमा पालना गर्नु पर्दछ,’ उनले भनेका छन्।
नागरिकलाई सास्ती दिने सरकार सम्बद्ध व्यक्तिलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ। ‘सुशासनको मेरूदण्ड कानुनी शासन हो। तर कानुनी शासन भएको देशमा आम नागरिकहरूलाई सास्ती नै सास्ती र सरकार सम्बद्ध व्यक्तिहरूलाई चाहिँ उन्मुक्ति नै उन्मुक्ति हुनुहुदैन,’ अर्यालले भनेका छन्, ‘अहिले पनि लक्षणहरू राम्रा देखिएका छैनन्।’
Shares

प्रतिक्रिया