‘पाना पल्टाउँदा अलि होस् पुर्याउनु, यो अरु किताबको पाना पल्टाएजस्तो होइन नि।’ थुकको छिटा स्वस्थानी किताबमा पर्ला भन्ने कुरामा आमाले उसलाई सचेत पार्नुभयो।
बालकले पहिलो पटक स्वस्थानी व्रतकथाको किताब देख्यो; रातो कपडाले लपेटिएको, भित्र पनि ठूला–ठूला अक्षरले लेखिएको, देवी–देउताको फोटो पनि भएको मोटो किताब! पहिले कहिल्यै उसले यस्तो किताब देखेको थिएन। ऊ अचम्मित भयो। अझ आमाले घरको दलानमा गाईको गोबरले लिपेर सफा पारिएको ठाउँमा नयाँ सानो गुन्द्रीमा उसलाई हात–मुख धुन लाएर बसाउनु भएको थियो। ऊ अचम्ममा पर्यो।
‘लु अब पढ्न थाल्! कहीँ कतै एक अक्षर पनि नछोडी पढ्नू, थुक लाएर पाना नपल्टाउनू, नत्र भगवान् रिसाउँछन्।’
‘अनि यत्रो किताब एकै दिनमा कसरी सकिन्छ त?’ बालकले आपत्ति जनायो।
‘आजै एकै दिनमा सक्नुपर्ने होइन नि लाटा! एक महिनासम्म पढ्ने हो; दिनको एक अध्याय, एक घण्टाजति। आज पूर्णे हो, आजबाट सुरु गरेर एक महिनापछि आउने पूर्णेसम्म पढ्ने हो क्या!’ आमाले सजिलो पारिदिनुभयो।
गाउँकै प्राथमिक स्कुलमा भर्खरै कक्षा तीनमा पढ्न थालेको बालकले कनिकुथी आमाले भनेजसरी स्वस्थानी व्रतकथा पढ्न सुरु गर्यो। उसले पढ्दा बिगारेको, शुद्ध उच्चारण गर्न नसकेको आमाले ठ्याक्कै थाहा पाउनुहुन्थ्यो र ‘त्यस्तो होइन, यस्तो लेख्या होला, अलि राम्ररी हेर्’ भन्नुहुन्थ्यो। एक अक्षर पनि नपढेको ‘काला अक्षर भैंसी बराबर’ मान्ने आमाले बालकले पढ्दाका गल्ती भने फ्याट्टै थाहा पाउनुहुन्थ्यो।
आमालाई कखरा, बाह्रखरी केही लेख्न–पढ्न आउँदैनथ्यो तर आफ्नो नाम भने सही गर्नुपर्ने ठाउँमा ‘देवमाया’ कनिकुथी लेख्नुहुन्थ्यो।
आमाले नाम मात्र लेख्न जान्नुको कारण के रहेछ भने २०४५ सालतिर उहाँ ग्रामीण महिला स्वास्थ्य स्वयंसेविकामा चुनिएर तालिम लिन जानुपरेको रहेछ। तालिममा सहभागीको हाजिरी गर्ने बेला औँठाछाप लाउनु पर्दा आमालाई नराम्रो लागेछ। ‘के औँठाछाप भएर बस्नु? कमसेकम आफ्नो नाम लेखेर हाजिरसम्म गर्नुपर्छ’ भन्ने सोचेर माइला, साइँला छोरासँग आफ्नो नाम ‘देवमाया’ सम्म लेख्न सिक्नुभएछ। तर उहाँले क, ख, अ, आ, बाह्रखरी सिक्ने चाहना राख्नुभएन।
पछि अलिक दिन प्रौढ शिक्षा लिन खोज्नुभएको थियो, नाताले आफ्नै दिदीको छोरा गणेश अधिकारीसँग। प्रौढ शिक्षामा पनि आमाले नयाँ–नयाँ अक्षर लेख्न–पढ्न सिक्नुभन्दा पनि उही ‘देवमाया’ नाम चैँ मज्जाले लेख्न मात्र सिक्न माग्नुभयो। त्यसभन्दा बढी उहाँले सिक्ने चाहना नै राख्नुभएन। सायद आफ्नो नाम लेखेर हाजिरसम्म गर्न सक्ने हुनु नै उहाँका लागि साक्षर हुनु थियो। अझ हुनसक्छ, औँठाछापबाट मुक्ति पाउनु मात्र उहाँका लागि अक्षरको दुनियाँ थियो।
घरायसी कामधन्दा, ग्रामीण महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी, पाँचओटा सन्तानको हेरचाह, गोठभरिका गाईवस्तु र खोरभरिका बाख्रा- आमाको पाठ्यक्रम यिनै थिए। अझ भनौँ, आमा ठेकेदार नै हुनुहुन्थ्यो यी साराका सारा कामको टेन्डर परेको मुख्य ठेकेदार!
आमालाई अक्षरसँग अल्मलिने फुर्सद नै कहाँ हुन्थ्यो र? आफ्ना बालक छोराले स्वस्थानी व्रतकथा पढेको सुन्दा पनि आमा सन्चोले बसेर सुन्नुहुन्थेन। कहिले दुनाटपरी गाँस्दै, कहिले कपासको रुइयाको बत्ती कात्दै, कहिले गुन्द्रीको तानमा हात नचाउँदै, कहिले थाकलको पातबाट बनाइने चटाई बुन्दै वा परालका त्यान्द्रा, मकैका खोस्टाको पिरा बुन्दै कथा सुन्नुहुन्थ्यो।
कति जाँगर! कति धेरै जिम्मेवारी! बालकले आफ्नी आमालाई खाली हात वा काम नगरी बसेको अवस्थामा कहिल्यै देखेन। आमा मेसिन समान काम गर्नुहुन्थ्यो।
राति अबेलासम्म घरधन्दाका काम, सबैले खाइसकेपछि रहेबचेको चिसो खानेकुरा पनि मिठो मानेर खाने अनि फेरि भाँडाकुँडा मझाइ, जुठो लोटाइ, भान्सा सिनिक्क सफा पारेपछि जाँतोमा मकै पिसाइ। अरुले तातो ओच्छ्यानमा एक निद्रा पुर्याइसक्दा पनि आमाको सुत्ने बेला हुन्थेन सायद। फेरि बिहान भालेको पहिलो डाकसँगै आमाले ओच्छ्यान छोडिसक्नुहुन्थ्यो। अरुले भालेको डाकमा ‘कुखुरी काँ’ सुन्दा आमाले सायद ‘उठ काँइली, तिम्रा धेरै काम छन्’ सुन्नुहुन्थ्यो होला।
बालक आमाको कान्छो छोरो थियो!
बालक अर्थात् सन्तोष! अरुले अन्य नामले नै बोलाए पनि आमा भने उसलाई उसैले रोजेको ‘सन्तोष’ नामले बोलाउनुहुन्थ्यो। यो सन्तोष नाम राखिनुको पछाडि पनि एउटा कहानी थियो। पाँच वर्षको भएपछि उसलाई स्कुलमा कक्षा एकमा भर्ना गर्दाका बखत बाले वास्तविक जन्ममिति र न्वारानमा जुरेको नाम गीतानाथ शर्मा नै लेखाइदिनुभएको थियो तर उसलाई त्यो नाम त्यति मन परेको थिएन। साथीहरूले ‘गीता त केटीको नाम हो! तँ केटीहरूसँगै बस्ने गर्!’ भनिदिँदा बालक मर्माहत हुन्थ्यो। आमासँग नामको विषयलाई लिएर गुनासो गर्थ्यो।
‘आमा! मेरो नाम किन केटीको जस्तो; मलाई यो नाम मन परेकै छैन। कसले राख्या मेरो नाम?’
आफूभित्रको पुरुष अहम् नजानेरै पनि प्रकट गर्यो बालकले। ‘हेर् बाबै! आफ्नो जन्मले जुरेको पुरेतले राखेको नाम पो नाम त! तेरो नाम राम्रै छ त।’ आमा आश्वस्त पार्दै भन्नुहुन्थ्यो।
‘नाइँ क्या! उहाँ साथीहरूको चैँ कति राम्रो–राम्रो नाम छ! मन्दिप, प्रमेश, मुन्ना, दिलिप, मेरो चैँ गीतानाथ?’
‘त्यसो भए बोलाउने नाम अर्कै राखौँला नि!’ आमाले उपाय निकाल्नुभयो।
उसलाई आमाको उपाय मन पर्यो किनभने उसको साथी मन्दिपको पनि दुईटा नाम थियो। स्कुलको हाजिरीमा खड्गबहादुर रम्तेल भए पनि सबैले उसलाई मन्दिप भनेर बोलाउँथे।
‘अनि के नाम राख्ने त?’ बालकका आँखा उत्सुकताले भरिए र कान नयाँ नाम सुन्न जुर्मुराए।
‘तैँ भन्न न, तैँले जे भन्छस् त्यही राखौँला नि।’
भर्खरै बनाएको नयाँ घरको बाँसको टाटी लिप्दै गर्नुभएको आमाले यसबेला नाम राख्ने जिम्मा उसलाई नै दिनुभयो।
‘अरुण! कस्तो होला?’ बालकले प्रस्ताव राख्दै आमालाई सुनायो। ‘हुन्छ नि।’ आमाको सहज जवाफ थियो।
बालक फेरि मलिन भएर सोचमा डुब्यो। ‘किन, के भो र बाबु? ठिकै छ त अरुण नाम!’ आमाले उसको नाम रोजाइ राम्रो भएको ढाडस दिन खोज्नुभयो।
बालकले निराश हुँदै भन्यो, ‘अरुण नाम भएको पल्लो टोलको मान्छे त खुब चुरोट तान्छ। त्यो चुरोट खाने मान्छेको नाम किन राख्नु?’
‘त्यसो भए उमेश राखौँ न त।’ आमाले उमेश नाम सुझाउँदै भन्नुभयो।
सुरुमा त बालक खुसी भयो। सुन्दा पनि राम्रो लाग्यो ‘उमेश’ नाम। उसले नाम मन पराएर सहर्ष स्वीकार गर्यो। त्यसपछि त तुरुन्तै आमाले उसलाई उमेशका उमेश भनेर बोलाउन सुरु गर्नुभयो।
‘यसै गर् उमेश। त्यसो गर् उमेश। यता आइज उमेश।’ आदि आदि।
नयाँ नाम राखिएको त्यस दिनभरि ऊ आवश्यकभन्दा बढी नै ‘उमेश’ नामले पुकारिएको थियो आमाबाट। ऊ पनि मक्ख थियो। त्यस दिनभरि ऊ उमेश नामले पुकारियो; ऊ फुरुक्क थियो।
तर भोलिपल्ट अर्को बालक, उसकै साँइलो दाजुले उमेश नाममाथि हिलो छेप्यो। ‘के नाम राख्या होला उमेश? वाँ, पुछारघरे सिँगाने केटोको नाम त हो नि उमेश!’
बालक लल्याकलुलुक्क भयो। उसले सम्झ्यो, ‘साँच्चै हो नि, त्यो पुछारघरे उमेश त सिँगाने नै छ। नाकभरि पनि सिँगान राखेर हिँड्छ, स्याँक्क–स्याँक्क तान्दै। आ, त्यस्ताको नाम नराख्ने!’
हिजो नाम राख्ने बेला उमेशलाई बिर्सिएको उसले अहिले सम्झियो। बालक हतोत्साहित भयो। फेरि आमासँग अरु–अरु नयाँ नामको फेहरिस्त माग्न थाल्यो।
आमा पनि नयाँ–नयाँ नाम सुझाउनुहुन्थ्यो। कुनै नामले बहन गर्ने शाब्दिक अर्थ बुझेर होइन कि उसै चल्तीका नाम खोजी हुन थाल्यो।
प्रायः उसैको टोलका वा तल्लो, माथ्लो टोलका केटा वा वयस्क मान्छेहरूका चलनचल्तीका सुनिरहेका नाम सिफारिसमा परे।
बालकको मस्तिष्कमा ती नामहरूले बिम्ब बनाउँथे। ती नामधारीमध्ये उसले अलि–अलि जानेका मान्छेहरूको रूपरङ्ग, तिनका देखिने स्वभाव आदिलाई ऊ नामसँग जोडेर हेर्थ्यो।
उसका वरपरका बालक केटाहरू, केही वयस्क लोग्ने मान्छेहरूको नाम आमाले राख्न सकिने नाम भनेर सिफारिस गर्दै जानुभयो।
बालकले प्रायः नाम रुचाएन। अन्तमा आमाले झिँजो मान्दै ‘सन्तोष नाम राख्ने त?’ भनेर पुलुक्क ऊतिर हेर्नुभयो।
बालक एकछिन सोचमग्न भयो। तुरुन्तै उसको मस्तिष्कमा सिन्धुलीतिर घर भएका नाताले फुपू दिदी पर्नेको छोरा सन्तोष दाइको याद आयो।
चपक्क तेल लाएर सपक्क कपाल कोरेर हिँड्ने, हँसमुख, सुकिला लुगा लगाएर बेलाबेला बालकको घरतिर आइरहने सन्तोष दाइ साँच्चै उसबेलाका राम्रा नौजवान थिए।
उनको बोलीमा माधुर्य, अनुहारमा चमक र आकर्षण थियो। ‘सन्तोष’ नामले बालकको मस्तिष्कमा सुन्दर बिम्ब बनाइहाल्यो।
अनि त के थियो र, उसले त्यो नाम खुसीसाथ स्वीकार गर्यो। आमाले पनि त्यसै दिन त के, त्यतिबेलैदेखि सन्तोषका सन्तोष भनेर उसलाई बोलाउन थालिहाल्नुभयो।
धन्न यसबेला साँइलो दाजुले सन्तोष नामक कुनै बदमास बालक वा वयस्क लोग्ने मान्छे देखाएन।
स्कुलमा बिताइने सीमित घण्टाबाहेक बालकको सम्पूर्ण समय आमासँगै बित्थ्यो। यदाकदा टोले साथीहरूसँग खेल्न गए पनि ऊ एकछिनमै घर आइपुग्थ्यो र आमालाई नै पच्छ्याइहाल्थ्यो। आमा घाँस काट्न जाँदा, पानी लिन पँधेरो जाँदा, शनिबारका दिन दाउरा काट्न जाँदा, मकै गोड्न होस् वा धान रोप्न जाँदा ऊ आमालाई एक बित्ता छोड्थेन।
‘अनि स्कुलको पाठ गरिस् त?’ साँझ बिहान आमाले उसलाई गृहकार्य गरे–नगरेको यसैगरी सोध्नुहुन्थ्यो। ऊ तुरुन्त गृहकार्य गर्न बसिहाल्थ्यो। ‘लु आज स्कुलमा के–के पढिस्, मलाई सुना त बाबु!’ ऊ किताबका पाठहरू खरर पढेर सुनाउँथ्यो। त्यसबेला कुनै न कुनै काममा आमाका जाँगरिला हातहरू नाचिरहेका हुन्थे भने कान तिखा भएर छोराको पठन सुनिरहेका हुन्थे।
आमालाई ‘देवमाया’ लेख्दाका सांकेतिक चिन्ह बाहेक ‘क’ पनि लेख्न आउँदैनथ्यो। बाह्रखरीमा ‘दे’ भन्दा अघि आउने ‘दू’ अक्षर होस् वा ‘दे’ को लगत्तै आउने ‘दै’ आमालाई यिनको पनि मेसो थिएन। त्यस्ती आमाले सजायका नाममा बालकलाई एक लपेटो नहानी, अलिकति पनि कडा स्वर नगरी यस प्रकार छोरालाई पढाउनुहुन्थ्यो।
भर्खरै मङ्सिरदेखि तीन कक्षामा पढेको बालकलाई माघ महिनाका बिहान–बेलुका स्वस्थानी व्रतकथा पढ्न लाएर अलिकपछि हरेक शुक्रबार सन्तोषी माताको कथा वाचन गराएर आमाले नजानेरै पनि उसको द्रुतपठन, शुद्ध उच्चारण सबै ठीक पार्नुभयो। स्कुलको किताबमा नपाइने रोचक, रमाइला कथाहरू आमाले पढ्न लगाउने व्रतकथाका किताबमा पढ्न पाउँदा बालक पनि औधी रमाउँथ्यो।
रातिको खानपानपछि सबैजना सुत्दा पनि आमाको सुत्ने बेला भएको हुन्थेन। हरेक रातमा आमा जाँतोमा दाल, कोदो, मकै, गहुँ आदि केही न केही पिस्नुहुन्थ्यो। कहिलेकाहीँ त भुटेको मकैको सातु पनि पिस्नुहुन्थ्यो। बालक आमासँगै सुत्ने भएकाले ‘सुत्न जाऊँ’ भनेर ढिपी गर्थ्यो। निद्राले उँघ्न थालेको उसलाई ओच्छ्यानमा लगेर सुताई आमा फेरि जाँतो घुमाउन थाल्नुहुन्थ्यो। बालक आमासँगै सुते पनि उसलाई आमा आफूसँगै सुतेको त्यति थाहा नै हुन्थेन; ऊ आमा सुत्न आउनु अगाडि नै निदाएको हुन्थ्यो र बिहान भालेको पहिलो डाकमै उठेर घरधन्दा गर्ने आमा उसलाई निद्राले छोड्दा ओच्छ्यानमा भेटिनुहुन्थेन। त्यसैले ऊ संसारकै पवित्र स्थान आमाको छातीमा टाँसिएर सुत्दा पनि सुतेको थाहा पाउँथेन।
स्कुल छुट्टी भएका बेला बालक दिउँसो पनि सुत्थ्यो र त्यस दिनको राति उसलाई चाँडै निद्रा लाग्थेन। निद्रा नलागेको बेला ऊ घरको चल्तापुर्जा रोबोट आमालाई पच्छ्याउँदै जाँतो पिसिइरहेको ठाउँमा पुग्थ्यो। दिनभरिको काम गराइले पनि थाक्न नसक्ने आमा ज्याद्रो भएर या बडेमानको जाँतो घुमाइरहनु भएको हुन्थ्यो।
‘तँलाई निन्द्रा लागेन सन्तोष?’ आमाले प्रेमपूर्ण आँखाले उसलाई हेर्नुहुन्थ्यो। ‘अँ, निन्द्रा नै लागेन।’ बालक आमाको ढाडमा ढेसिँदै जवाफ दिन्थ्यो। ‘अनि स्कुलको पाठ सबै सकिस् त?’ ऊ गृहकार्य गरिसकेको जनाउन मुन्टो हल्लाउँथ्यो। ‘लु त्यसो भए आज तँलाई म सुनकेसरी रानीको कथा सुनाउँछु।’
बालक उत्सुक भएर कथा सुन्थ्यो। आफ्ना खिनौरा हातले घरी मकैको घान हाल्दै, घरी त्यस बडेमानको जाँतोको हातो नचाउँदै आमा उसलाई कथा सुनाउनुहुन्थ्यो। आमाका कथा रसिला, उत्साहपूर्ण, रोमान्चक हुन्थे। तिलस्मी हुन्थे। बालक कथामा लठिन्थ्यो र कथामै हराउँथ्यो। आफूलाई कथाको नायकमा आरोपित गर्थ्यो। यसरी उसले त्यस दिनपछि आमाको जाँतो घुमाइसँगै धेरै कथा सुन्यो। आफू पनि कल्पनाको दुनियाँमा उडान भरिरह्यो। ऊ आमाबाट सुनेका कथा स्कुल पुगेर साथीहरूलाई दुरुस्तै सुनाउँथ्यो। साथीहरू पनि रमाउँथे।
हरबखत उत्साहपूर्ण, ऊर्जापूर्ण, एकछिन खाली हात नबसी साराका सारा कामधन्दा भ्याएर, असल अभिभावकत्व दिन पनि भ्याउने, सामाजिक काममा गाउँमा को सुत्केरी भयो? कसका बच्चा बिरामी परे? कसलाई के समस्या पर्यो? कसको मर्का के हो? सबैको निधिखोजी र आवश्यक सहयोग पनि गर्नै पर्ने ‘काँइली मुखिनी यस्तो समस्या पर्यो!’ भन्दै घरको आँगनमा याचना गर्न आइपुग्ने दीनदुखीका मरोपरोमा पनि सकेको सहयोग मन खोलेर गर्नै पर्ने। घरमा पाहुना आए असाध्यै रमाएर सत्कार गर्ने; छिनको छिनमै खानपान तयार पारेर खुवाउन सक्ने। आमासँग न त अल्छ्याइँ थियो न त निराशा! हरबखत सकारात्मक, हरबखत उज्याली आमा। साँच्चै आमा नामले मात्र होइन, कामले पनि देवमाया नै हुनुहुन्थ्यो; आमाले पढ्न लगाउने व्रतकथामा वर्णन भएका देवी जस्तै।
बालक ऊभन्दा माथिका दाजु, दिदी र बासँग यति धेरै झ्यामिन्नथ्यो जति आमासँग झ्यामिन्थ्यो। हुन त उसलाई कान्छो सन्तान भएकाले माया र वात्सल्यको कुनै कमी थिएन; सबैले उसलाई माया नै गर्थे तर ‘अरुको लाख आमाको काख’, उसलाई आमा नै सर्वप्रिय लाग्थ्यो।
समयका काँटाहरूलाई दौडनु थियो; बेस्कन दौडिए। आमाको आँखामाथिको रातिगेडी बालक पनि जवान हुँदै परिपक्व युवकमा परिवर्तन भयो। ऊ अब बालक रहेन; युवक भइसकेको थियो। उसले राजधानीबाटै उत्कृष्ट अङ्कसहित प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गर्यो। कामको दुनियाँमा प्रवेश गर्यो। उसलाई बिग्रनु वा बर्बाद हुनु थिएन किनभने उसको मस्तिष्कमा आमाले त्यो सफ्टवेयर भरिदिनुभएको थियो जसले उसलाई बाटो बिराउन दिन्नथ्यो। युवक ३२ वर्षको हुँदा उसले आमालाई सदाका लागि गुमायो। धरतीमा एउटी असल आमा बनेर सृष्टिचक्रको दायित्व इमान्दारीसाथ पूरा गर्दै आमाले बाँकी धरती बाँच्नेहरूलाई छोड्दै बिदा हुनुभयो।
आमाले धरती छोडेको पनि वर्षौँ भएछ। त्यो बालक युवा हुँदै चालिसे काटेको अधबैँसे मानिसमा परिवर्तन भइसके पनि बेलाबेला उसका कानमा उसैगरी आमाले सुनाएका ‘सुनकेसरी रानीका कथाहरू’ गुन्जिरहन्छन्। उसलाई त्यो कथा सम्झनासाथ पहिले त आमा अनि त्यो जाँतोको याद आउँछ। छटपटाउँदै कोठाबाहिर निस्कन्छ। घरबाहिर ओसारामा न त जाँतो छ; न त जाँतो घुमाउने आमा नै। आमा बितेको केही वर्षपछि नै ऊ नयाँ घर बनाएर सरेको थियो। नयाँ घर ठड्याउँदा उसले पुरानो घर भत्काउनु परेको थियो; जहाँ उसका बाआमाका पदचापहरू थिए। आमाले लिपेका, पोतेका भित्ताहरू थिए।
सबभन्दा ठूलो कुरा त आमाले हरेक दिन घुमाउने ढुङ्गाको ‘भुँडे जाँतो’ त्यही ओसारामै गजधुम्म परेर बसिरहेको हुन्थ्यो। आमासँगै यी कुरा बिलाएको पाउँदा अलिकति त उसलाई आफैँसँग रिस उठ्छ। निराश हुन्छ र कोठाको भित्तामा फ्रेमभित्र विराजमान बाआमाको संयुक्त तस्बिरमा नजर पुर्याउँछ। आमाभन्दा अघि नै संसार छोड्नुभएको बासँगका पनि यस्ता थुप्रै यादहरू छन् ऊसँग तर आज ऊ आमाकै तस्बिरमा घोत्लिरहन्छ। तस्बिर हेर्दै जाँदा आमाका तेजिला आँखाले उसलाई ‘बाबु! अल्छ्याइँ नगर्नू नि! हरबखत आफ्नो काम रमाएर गरेस्’ भनेझैँ लाग्छ।
आमाकै कथा सुनेर कल्पना गर्ने सिप सिकेको ऊ फेरि कल्पनामै हराउँछ। ‘साँच्ची म अहिलेको डिजिटल युगमा जन्मिएको पाँच वर्षको बालक भएको भए मैले कस्ती आमा पाउँथे होला? म कस्तो बालक हुन्थेँ होला? आमाले मेरो स्कुलिङ कसरी गर्थिन् होला? मोबाइलको स्क्रिनमा घोप्टिरहने डिजिटल सामग्रीको दास उत्पादन भैरहेको घोप्टे युगमा मेरी आमा पनि त डिजिटल अल्गोरिदमले सिकिस्त, वास्तविक दुनियाँभन्दा पनि स्क्रिनको दुनियाँमा रमाउने पो हुन्थिन् कि? या बृहत् परिवारको बोझले एकल परिवार बनाउँदै आफू व्यस्त कामकाजी भएकाले राम्रोसँग तोतेबोली नफुट्दै मन्टेस्वरीमा लगेर पो छोड्थिन् कि मलाई? या राम्रो पढाइका लागि भन्दै आमाको काख छुटाएर सहरबजारका बोर्डिङ स्कुलमा लगेर बोर्डर्स गरेर पो आउँथिन् कि?
के मैले आफूले स्कुलमा पढेका पाठहरू तोतेबोलीमा पढ्दै आमालाई सुनाउन पाउँथे होला? रातमा उसैगरी संसारकै प्यारो काखमा तेर्सिएर रमाइला–रमाइला कथाहरू सुन्न पाउँथे होला? हरबखत आफ्नो समस्याको केन्द्रमा मात्र अल्झिएर अरुलाई बिर्सनेहरूका माझमा आफूभन्दा माथि उठेर समाज हेर्ने हुन्थिन् होला त मेरी आमा?
सबभन्दा ठूलो कुरा त आधुनिक समयकी पढेलेखेकी मेरी आमाले संसारकै पवित्र र नजिकको नाता ‘आमा!’ भनेर सम्बोधन गर्न सिकाउँथिन् होला त? सायद सिकाउँदिनथिइन् होला। मैले उनलाई आमाको सट्टा ‘ममी’ भनेर बोलाउनुपर्थ्यो होला! महान् शब्द ‘आमा’ को पगरी गुथ्नबाट वञ्चित ती जन्मदात्री ‘ममी’मै मक्ख पर्थिन् होला! यसबेला उसलाई ‘ममी’ भनेर पुकारिनेहरूमाथि दया लाग्यो। कल्पनामै उसलाई औडाहा भयो र वास्तविकतामै बर्बराउन थाल्यो-
‘हैट्! जन्मदात्री जगत् जननीलाई पनि आमा भन्न नपाउनु? धन्न म यस युगको ममीको छोरा भएर जन्मनु परेन! म आमाकै छोरा ठीक छु! मलाई ममीको छोरा हुनु पर्या छैन! म आमाको छोरा हुँ। मलाई आफ्नो पेटभित्र राखेर भ्रूणदेखि मान्छे बनाउने अनि धरावतरण गराएर ममताको विशाल छाहारीमै साँचो मानव बनाउने महान् आमालाई म ममी सम्बोधन गर्नै सक्दिनँ! म ममीको छोरा होइन! आमाको छोरा हुँ र आमाकै छोरा रहनेछु।’
ठूलो स्वरको आफ्नै बर्बराहटले ऊ झस्कियो।
फ्रेमभित्र बसेर पनि अझै मातृत्वको उज्यालो छरिरहनु भएको जिम्वाल दीनानाथका चार श्रीमतीमध्ये कान्छी राजुमायातर्फको नौ सन्तानमा छोरीतर्फ काँइली देवमायालाई उसले अपलक फेरि पनि हेरिरह्यो। जनगणना गर्न आउने कर्मचारीहरूले निरक्षर भनेर अनपढको सूचीमा राख्ने गरेको देवमायामाथि उसले अन्याय भएको महसुस गर्यो अनि कल्पनामै सही उसले आफ्नी आमालाई संसारकै उत्कृष्ट विश्वविद्यालयबाट सन्तानको लालनपालन र हुर्काइ शीर्षकमा सर्वोत्कृष्ट सोध गरेको ठहर गर्दै मरणोपरान्त गोल्डमेडलसहितको मानार्थ पीएचडी प्रदान भएको देख्यो। ऊ अनायसै खुसी हुँदै ‘आमा!’ भनेर चिच्यायो।
आमा फ्रेमभित्र बसेर मायालु आँखाले उसैलाई हेरिरहनु भएको थियो।
Shares

प्रतिक्रिया