राजनीति


चितवनबाटै चलिरहेछ सिंहदरबार, भर्चुअल जोडिँदै मन्त्रीहरू

चितवनबाटै चलिरहेछ सिंहदरबार, भर्चुअल जोडिँदै मन्त्रीहरू

उन्नत सापकोटा
असार १०, २०८३ बुधबार १५:१, काठमाडौँ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि प्रधानमन्त्रीदेखि मन्त्रीहरू चितवन पुगे पनि मन्त्रालयका कामकाज निरन्तर चलिरहेका छन्। 

महाधिवेशनका लागि रास्वपाका नेता तथा कार्यकर्ता असार ६ बाट आउने क्रम सुरु भएको थियो। कतिपय मन्त्री पनि महाधिवेशनको अघिल्लो साँझ नै चितवन गएका थिए। 

रास्वपाको महाधिवेशन असार ७ मा उद्घाटन भएको थियो। असार ९ मा सम्पन्न हुने तय भए पनि लम्बिएको छ। जसले गर्दा मन्त्रीहरूको चितवन बसाइँ पनि लम्बिएको छ। 

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबाहेक सबै मन्त्री रास्वपाको महाधिवेशनका लागि चितवन पुगेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहसहित उनको टिम भने चितवनबाट बुद्ध एयरको विमानमार्फत बुधबार बिहान काठमाडौँ फर्किसकेको छ। 

अन्य मन्त्रीहरू भने अझै चितवनमा छन्। सरकारमा सहभागी अधिकांश मन्त्री पार्टीको केन्द्रीय सदस्य पदका आकांक्षी भएकाले मतदान प्रक्रिया नसकी सिंहदरबार फर्किने अवस्थामा छैनन्।

प्रधानमन्त्रीदेखि अधिकांश मन्त्री चितवन गएपछि सरकारी काम कसरी अघि बढिरहेको छ भन्ने चासो देखिन थालेको छ। तर, मन्त्रीहरू चितवनमा भए पनि सरकारी काममा ठूलो प्रभाव भने नपरेको उनीहरूको दाबी छ। 

महाधिवेशनस्थलमै रहेका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयमा आफ्नो आवश्यता परेको खण्डमा भर्चुअल माध्यमबाटै जोडिने गरेको बताए। ‘मन्त्रालयमै उहीँ (सिहदरबार) भएको जस्तो त कहाँ हुन्छ र! तर, उपलब्ध सबै विकल्पमार्फत मन्त्रालयको काम अघि बढिरहेको छ,’ मन्त्री तिमिल्सिनाले नेपालखबरसँग भने, ‘मन्त्रीले दिनुपर्ने निर्देशन, नीतिगत स्पष्टता, प्लानिङ, के छ कसो छ भनेर ब्रिफिङ लिने, आइपरेका समस्या समाधान गर्ने सवालमा मैले चितवनबाटै काम हेरिरहेको छु। काम भइरहेका छन्।’

महाधिवेशनमै सहभागी अर्का एक जना मन्त्रीले आफ्ना निजी सचिव सिंहदरबारमै रहेकाले काममा धेरै असर नपरेको बताए। ‘आज बिहान मात्रै आवश्यकता परेपछि मन्त्रालयका सचिवदेखि अन्य अधिकारीसँग भर्चुअल माध्यमबाट सहभागी भएर आवश्यक निर्देशन दिएको छु। हामी चितवनमा हुँदा काम रोकनुहुन्न, केही आवश्यक परे तुरुन्त सम्पर्क गर्न भनेको छु,’ उनले भने, ‘निजी सचिवले कोअर्डिनेसन गरिरहनु भएको छ। काममा समस्या छैन। तर, महाधिवेशन छिट्टै सकियोस् भन्ने अपेक्षा छ।’

सूचना प्रविधि विभागले बनाएको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू भएका मन्त्रालयहरूले त्यही प्रणालीमार्फत मन्त्रीको डिजिटल हस्ताक्षर प्रयोग गरेर निर्णय गर्नेदेखि फाइल अघि बढाइरहेका छन्।  

प्रधानमन्त्री बालेनले चितवनबाटै दिएको निर्देशनका आधारमा सम्पत्ति शुद्धीकरण विभागले सोमबार नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। 

त्यसैगरी, चितवन आसपासबाट निर्वाचित सांसदहरूले आफ्ना क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित मन्त्रीहरूलाई लिएर विभिन्न निरीक्षणमा निस्किरहेका छन्। बजेटमा समेटिएका योजनाको अवस्था निरीक्षण गर्न सम्बन्धित मन्त्रालयका सचिवदेखि आयोजना प्रमुखलाई डाँकेर मन्त्रीहरूले अधिवेशनमा गएको समयलाई कामका लागि सदुपयोग गरिरहेको देखिन्छ।
 
यही सिलसिलामा चितवनको रत्ननगरमा स्वास्थ्यमन्त्री निशा मेहतालाई लिएर रास्वपा सांसद हरि ढकालले बकुलहर रत्ननगर अस्पतालको अवलोकन गरेका थिए। अस्पतालको सेवा, पूर्वाधार र प्राविधिक क्षमताबारे छलफल गर्दै मन्त्री मेहताले अस्पतालको भौतिक तथा प्राविधिक विकासका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएकी थिइन्। 

यस्तै, चितवन-३ बाट निर्वाचित सांसद तथा कानुनमन्त्री सोबिता गौतमले प्रस्तावित पुलको निरीक्षण गर्न पुगेकी थिइन्। गौतमले पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई सँगै लिएर प्रस्तावित गोलाघाटदेखि नवलपरासी पूर्वजोड्ने गोलाघाट पुलको अवलोकन गरेकी थिइन्। 

यस्तै, चितवन माडीको बाँदर झुलामा पुल निर्माणका साथै निर्वाचन क्षेत्रका सडकहरूको विषयमा पूर्वाधार विकासमन्त्री लम्सालसँगै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीलाई लिएर पुगेकी थिइन्। चितवन राष्ट्रिय निकुञ्जको भूभाग प्रस्तावित परियोजनामा पर्ने भएकाले वनमन्त्री चौधरीलाई गौतमले अवलोकनमा साथै लगेकी थिइन्। निरीक्षणका क्रममा खेल मैदानलगायतका प्रस्तावित आयोजनाको निरीक्षण गर्न मन्त्रीहरू पुगेका थिए। 

त्यस्तै,  कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकी छन्। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले प्रभावित परिवारका छात्रछात्रालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरेकी हुन्। 

महाधिवेशनकै क्रममा मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित ‘टाइगर सेन्चुरी’ निर्माण स्थलको अवलोकन गरेकी छन्। सरकारले देवनगरमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारिरहेको छ।  

देशभर करिब एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघहरू ‘इन्क्लोजर’मा राखिएको छ। टाइगर सेन्चुरी निर्माण भएमा समस्याग्रस्त र घाइते बाघले प्राकृतिक वातावरण पाउने मात्र नभई पर्या-पर्यटनमा समेत ठूलो टेवा पुग्ने मन्त्री चौधरीले बताइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad