नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेललाई सरकारले अपमान गर्ने हिसाबले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ।
मंगलबार एमाले मुख्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष पौडेलको पक्राउप्रति आपत्ति जनाएको सदंसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए। पौडेलको पक्राउ गैरन्यायिक र विधिको शासनविपरित रहेको निष्कर्ष समेत निकालेको महरले बताए।
‘हिजो मात्रै सुर्खेतबाट गैरराजनीतिक, गैरन्यायिक र प्रतिशोधपूर्ण ढंगले प्रक्राउ पर्नुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जसरी अपमानपूर्ण ढंगले प्रक्राउ गरियो, उहाँसँग पीएसओ छ, उहाँ राज्यको सम्पर्क र खबरमा हुनुहुन्छ। आज काठमाडौँ आउँदै हुनुहुन्थ्यो,’ महरले भने, ‘त्यो कुरा थाहा भई–भई राज्यले दुःख दिने हिसाबले रातारात सार्वजनिक यातायातको माध्यमबाट जसरी काठमाडौँ ल्याउने काम गरियो, यो गैरन्यायिक र गैरकानूनी छ।’
एमाले संसदीय दलको बैठकले उपाध्यक्ष पौडेलललाई तत्काल रिहा गर्न माग पनि गरेको छ। ‘यो कानुनी राज्य र विधिको शासनको बर्खिलापमा छ। यो पक्राउको एमाले संसदीय दलले घोर विरोध र भ्रत्सना गरेको छ,’ महरले भने, ‘विनासर्त अविलम्ब रिहाईको माग पनि गरेको छ।’
महरले बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेको बताए। बैठकले अध्यक्ष ओलीलाई धन्यावाद ज्ञापनसहितका विभिन्न सात वटा प्रस्ताव पारित गरेको पनि जानकारी दिए।
Shares

प्रतिक्रिया