राजनीति


प्रधानमन्त्री बालेनलाई संसद्‌मा आउन आङदेम्बेको निम्तो

प्रधानमन्त्री बालेनलाई संसद्‌मा आउन आङदेम्बेको निम्तो

नेपालखबर
असार २०, २०८३ शनिबार १८:४८, काठमाडौँ

प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा आउन आग्रह गरेका छन्। 

संवैधानिक परिषद्को बैठकका क्रममा आङदेम्बेले प्रधानमन्त्री शाहलाई संसद्‌मा निम्त्याएका हुन्। उनले संसदीय प्रणालीमा प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी हुनुपर्ने भन्दै संसद्‌मा आउन आग्रह गरेका थिए। तर, संसद्‌माआउनुअघि सभामुखलाई जानकारी दिन सुझाएको स्रोतले नेपालखबरलाई बतायो। 

‘तपाईं संसद्‌मा आउनुपर्छ, संसद्को अवमूल्यन गर्न हुँदैन तर आउनुअघि सभामुखलाई चाहिँ जानकारी दिनुहोस्,’ आङदेम्बेले प्रधानमन्त्री शाहलाई भनेका थिए। 

जवाफमा प्रधानमन्त्री शाहले भने, ‘जानकारी नगराई पनि जान मिल्दो रहेछ।’

‘त्यसरी मिल्ने त सांसदलाई पो त! तपाईं त प्रधानमन्त्री हो नि। जतिखेर बोल्न मन लाग्यो, त्यतिखेर कहाँ बोल्न मिल्छ?,’ आङदेम्बेले भनेका थिए। 

गत जेठ १७ मा प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठकमा आकस्मिक रुपमा पुगेका थिए। सभामुख डोलप्रसाद अर्याललाई समेत जानकारी नदिइकन पुगेपछि बोल्न हात उठाएर समय मागेका थिए।

सभामुख अर्यालले समय दिएपछि उनी रोस्टममा गएका थिए र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका थिए। त्यहीबेला उनले सीमासम्बन्धी सांसदहरूले सोधेको प्रश्नको जवाफ दिएका थिए। 

त्यही क्रममा ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेका थिए। उनको यो अभिव्यक्ति विवादित बनेको थियो। 

त्यसयता प्रधानमन्त्री शाह संसद्‌मा गएका छैनन्। विपक्षी दलले प्रधानमन्त्री शाह संसद्‌मा उपस्थिति हुनुपर्ने माग गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad