राजनीति


अहिले गम्भीर धक्का बेहोर्नुपरेको छ, फेरि अघि बढ्छौँ: केपी ओली

अहिले गम्भीर धक्का बेहोर्नुपरेको छ, फेरि अघि बढ्छौँ: केपी ओली

नेपालखबर
असार २०, २०८३ शनिबार १७:१८, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनौती र अवरोधलाई चिर्दै आफ्ना उद्देश्य प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने बताएका छन्। 

शनिबार ललितपुरमा आयोजित एमालेको ‘जागरण अभियान’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली समाजको जागरण र रूपान्तरणमा पार्टीले असाधारण र अद्वितीय भूमिका निर्वाह गरेको बताए। जनतालाई परिवर्तनको वास्तविक अर्थ बुझाउन र मुलुकलाई सही दिशामा नेतृत्व गर्न एमाले सफल भएको उनको भनाइ थियो। 

‘हाम्रो पार्टी गौरवपूर्ण सङ्घर्ष र बलिदानको इतिहास बोकेको, नेपाली समाजको जागरण र परिवर्तनमा असाधारण तथा अद्वितीय भूमिका निर्वाह गरेको पार्टी हो,’ ओलीले भने, ‘जनचेतनाको विकास, जागरण र परिवर्तन के हो भन्ने कुरा जनतालाई बुझाउने, हामी कहाँ जान हिँडेका हौँ, हाम्रो कर्तव्य के हो, कुन बाटोबाट, कुन तरिकाले र कसरी लक्ष्यमा पुगिन्छ भन्ने विषयमा स्पष्टता दिँदै जनतालाई नेतृत्व गरेर सफलतापूर्वक अगाडि बढिरहेको पार्टी यही हो।’

पार्टीले विगतदेखि नै विभिन्न किसिमका प्रहार, आक्रमण र कुप्रचारहरू झेल्दै आएको स्मरण गराए। राजनीतिक आन्दोलनलाई नदीको बहावसँग तुलना गर्दै उनले परिवर्तनको अभियान सधैँ सोझो र सहज मार्गबाट मात्र अघि नबढ्ने बताए। 

‘यस पार्टीले विभिन्न समयमा अनेकौँ प्रहार, आक्रमण र कुप्रचार सहनुपरेको छ। तर ती सबै चुनौतीहरू सामना गर्दै, धक्काहरू सहँदै र तिनबाट उठ्दै आफ्ना महान् उद्देश्यतर्फ निरन्तर अगाडि बढिरहेको छ र फेरि पनि अगाडि बढ्नेछ,’ ओलीले भने।

एमालेले अहिलेसम्म थुप्रै धक्का बेहोरेको सुनाए। संघर्षको मैदानमा यस्ता धक्का आइरहने उनको भनाइ थियो। ‘हामीले समय–समयमा ठूला धक्काहरू बेहोरेका छौँ। असफलताहरू पनि भोग्नुपरेको छ। आन्दोलनको जीवन, सङ्घर्षको जीवन र पार्टीको जीवनमा परिवर्तनको अभियान सधैँ निर्वाध रूपमा अगाडि बढ्छ भन्ने हुँदैन,’ ओलीले उनले भने। 

उनले राजनीतिक आन्दोलनलाई नदीसँग तुलना गरे। नदीले जस्तै अनेक धक्का खाएर आफ्नो बाटो बनाउँदै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। 

‘एउटा नदी अगाडि बढ्नुपर्‍यो भने त्यसले कहिले यताको भित्तामा ठोक्किँदै, कहिले उताको घुम्तीमा मोडिँदै आफ्नो यात्रा तय गर्नुपर्छ। सधैँ सोझो बाटो र निर्विघ्न गतिमा एउटा नदी पनि बग्न पाउँदैन। त्यसलाई रोक्ने अनेकौँ व्यवधानहरू आउँछन्। तर ती व्यवधानहरूलाई छिचोल्दै, घुम्ती र मोडहरू पार गर्दै नदी अन्ततः अगाडि बढ्छ,’ ओलीले थपे, ‘आन्दोलन पनि यस्तै हो। हामी अनेकौँ मोडहरू पार गर्दै यहाँसम्म आइपुगेका छौँ। यतिबेला पनि हामीले एउटा गम्भीर धक्का बेहोर्नुपरेको छ र हामीले त्यो गम्भीर धक्का सहेका छौँ।’

अहिले सहनुपरेका केही गम्भीर धक्का र चुनौतीहरू सामना गर्दै अगाडि बढ्ने उनको भनाइ थियो। उनले अहिलेको परिस्थितिबाट विचलित नभई अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad