राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो सुरु हुने भएको छ।
मंगलबार रास्वपाले जारी गरेको कार्यतालिकाअनुसार, दिउँसो २ बजेपछि बन्दसत्र सुरु हुने उल्लेख छ। दिउँसो २ बजेसम्म प्रतिनिधिलाई परिचयपत्र वितरणलगायतका कार्य सक्ने जनाइएको छ।
बन्दसत्रमा ६ वटा प्रतिवेदनमा प्रस्तुत हुने भएका छन्। रास्वपा सभापति रवि लामिछानेले बन्दसत्र सुरु गरेसँगै अनुशासन आयोगका रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्।
त्यसपछि कोषाध्यक्ष लीमा अधिकारीले वित्तीय प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन प्रस्ताव र उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको अर्थ–राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। अन्तिममा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
सबै प्रतिवेदनमाथि छलफल र पारितपछि साँझ मात्रै निर्वाचन कार्यक्रम सुरु हुने जनाएको छ।
असार ७ गते भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन भएको रास्वपाको महाधिवेशनको बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुँदै छ। प्रतिनिधि छनोटका विषयमा विवाद भएपछि सोमबार सुरु हुनुपर्ने बन्दसत्र आज २ बजेका लागि तोकिएको छ।

Shares

प्रतिक्रिया